काठमाण्डु – नेकपा एमालेका महासचिव शंकर पोखरेलले विद्यालय शिक्षामै गणतन्त्रबारे पढाउनुपर्ने बताएका छन् ।
पार्टीका सबै विभागका सबै सदस्यहरूको विस्तारित भेला/बैठकलाई सम्बोधन गर्दै उनले गणतन्त्र प्राप्तिपछि केही पनि भएको छैन भन्ने भ्रम चिर्नुपर्ने बताए ।
गणतन्त्र प्राप्तिपछि सामाजिक, सांस्कृतिक, आर्थिक, विकास निर्माण, शैक्षिक लगायतका क्षेत्रमा भएका उपलब्धिबारे जानकारी गराउन र नयाँ पुस्तालाई सूसुचित गराउन पनि विद्यालय शिक्षामा गणतन्त्र र यसको उपलब्धिबारे पढाउनुपर्नेमा उनको जोड थियो ।
गणतन्त्रपछि जन्मिएका बच्चाहरूले बलिदानीपूर्ण संघर्षबाट लोकतन्त्र–गणतन्त्र स्थापना भएको हो भन्ने जानकारी दिनका लागि पनि विद्यालय शिक्षामै लोकतन्त्र र गणतन्त्रबारे पढाउनुपर्ने पनि उनले उल्लेख गरे ।
उनले त्यहाँ सम्बोधन गर्दै संविधान संशोधन गरेर भए पनि नागरिकस्तरमै उत्सवका रूपमा लोकतन्त्र–गणतन्त्र दिवस मनाउनुपर्नेमा पनि जोड दिए । यसपटक एमालेले गणतन्त्र दिवसलाई जेठ १५ गते जनताको उत्सवको दिनका रूपमा मनाउने तयारी गरेको पनि उनले बताए ।
महासचिव पोखरेलले लोकतान्त्रिक गणतन्त्रका विरुद्धमा हुने सबै गतिविधिहरू जनताको सम्प्रभूताविरुद्ध अर्थात् जनताका विरुद्धका गतिविधिहरू हुन् भन्ने कुरामा आमजनतालाई सचेत र जागरुक बनाउने अभियानका रूपमा पनि जेठ १५ गतेलाई उत्सवका रूपमा मनाउन लागेको उल्लेख गरे ।
जेठ १५ गते मनाउने उत्सव कसैको विरोधमा लक्षित नभएको भन्दै उनले गणतन्त्र नेपाली जनताको भन्दै सबैभन्दा ठूलो उत्सव भएकाले जनताको विजयका रूपमा मनाउन लागेको जानकारी दिए ।
उनले जनताको बलिदानी संघर्षबाट प्राप्त लोकतन्त्र, गणतन्त्र जोगाउन पनि जनताले यो दिन हाम्रो दिन हो भन्ने अनुभूति दिलाउनका लागि पनि एमालेले उत्सवका रूपमा झाँकीसहित मनाउन लागेको जानकारी दिए ।
लोकतन्त्रले के दियो भनेर राजावादीहरूले चलाएका हल्लाले पनि समस्या भएको छ भन्दै त्यसलाई चिर्नुपर्ने उनको भनाइ थियो । लोकतन्त्र जनताको शासन हो भन्ने स्थापित गर्ने एमाले सबैभन्दा अग्रपंक्तिमा रहेको उनको भनाइ थियो । राष्ट्रिय स्वाधीनता र रक्षाका लागि सबैभन्दा बढी खटिरहेको र सबैभन्दा बलियो शक्ति पनि एमाले नै भएका कारण अहिले सबैभन्दा बढी प्रहार एमालेमाथि भ्रमपूर्ण र नियोजित ढङ्गले भइरहेको उनले दाबी गरे । उनले एमालेको उज्यालो भविष्यमाथि भइरहेको प्रहारलाई सामना गर्नुपर्नेमा पनि जोड दिए ।
प्रतिक्रिया