पार्टी पुनर्गठन कार्ययोजनाको मस्यौदा तयार पार्ने जिम्मा थापा र पोखरेललाई

पार्टी पुनर्गठन कार्ययोजनाको मस्यौदा तयार पार्ने जिम्मा थापा र पोखरेललाई

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेले पार्टीलाई वैचारिक, राजनीतिक तथा संगठनात्मक रूपमा थप एकताबद्ध बनाउने उद्देश्यसहित गठन गरिएको कार्यदलले पार्टी पुनर्गठनसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार गर्ने जिम्मेवारी पार्टी उपाध्यक्ष रामबहादुर थापा र महासचिव शंकर पोखरेललाई दिएको छ ।

महासचिव शंकर पोखरेलले सामाजिक सञ्जाल फेसबूकमार्फत सार्वजनिक गरेको जानकारीअनुसार कार्यदलको बैठकले देशका विभिन्न १३ स्थानमा सञ्चालन गरिएको सुझाव संकलन कार्यक्रम सम्पन्न भई त्यसबाट प्राप्त प्रतिवेदनहरू समेत बैठकमा प्राप्त भएको छ ।

बैठकले सुझाव संकलन कार्यक्रमको व्यवस्थापनमा खटिएका समितिहरू तथा कार्यक्रममा सहभागी भई महत्त्वपूर्ण सुझाव दिने सम्पूर्ण नेता तथा कार्यकर्ताप्रति धन्यवाद ज्ञापन गरेको छ ।

बैठकले पार्टीलाई वैचारिक, राजनीतिक र संगठनात्मक रूपमा एकताबद्ध बनाउँदै शुद्धीकरण, सुदृढीकरण र रूपान्तरणसहितको पार्टी पुनर्गठनको कार्ययोजना तयार गर्ने प्रक्रियालाई अघि बढाउने निर्णय गरेको छ । कार्यदलको मस्यौदा प्रतिवेदन तयार गर्ने जिम्मेवारी कार्यदलका संयोजक तथा पार्टी उपाध्यक्ष रामबहादुर थापा र सदस्य सचिव तथा महासचिव शंकर पोखरेललाई प्रदान गरिएको जनाइएको छ ।

यसैबिच सुझाव संकलन अभियानकै क्रममा पार्टी उपाध्यक्ष तथा कार्यदलका सदस्य विष्णु पौडेललाई राजनीतिक प्रतिशोधको भावनाबाट प्रेरित भएर पक्राउ गरिएको भन्दै कार्यदलको बैठकले त्यसको घोर निन्दा र भर्त्सना गरेको छ । बैठकले पौडेलको यथाशीघ्र रिहाइको मागसमेत गरेको महासचिव पोखरेलले जानकारी दिएका छन् ।