विरोधीलाई अलमल्याएर गठबन्धन फुटाउन सफल भयौं : महासचिव पोखरेल


काठमाण्डु – नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेले हल्ला गरेको भए पुरानो सत्ता गठबन्धन फुटाउन नसक्ने अवस्था रहेको खुलासा गरेका छन् ।

नेकपा एमाले लमजुङको नवौं जिल्ला अधिवेशनको शुक्रबार उद्घाटन गर्दै पोखरेले एमालेले हल्ला नगरी काम गरेकाले गठबन्धन फुटाउन सकिएको बताए । एमालेले घोषणा गरेर गठबन्धन तोड्न चाहेको भए गठबन्धन भत्किने अवस्था नरहेको उनले बताए ।

‘हाम्रा विरोधीलाई अलमल्याउने काम गर्‍यौं, गठबन्धन कसरी भत्काउन सकिन्छ भनेर योजना बनायौं र गठबन्धन ढालेर नयाँ समीकरण बनायौं,’ उनले भने ।

नेकपा एमालेले सरकार चलाउन आवश्यक मत प्राप्त गर्न नसकेको अवस्थामा गठबन्धनले देशलाई ओरालो बाटोमा लगेपछि एमालेले गठबन्धनबाट जो बाहिर निस्कन्छ, त्यसलाई सघाउने कुरा गरेको भए पनि कांग्रेस बाहिर निस्किन नचाहेको उनले बताए ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गठबन्धनबाट बाहिर निस्किन चाहेकाले एमालेले समर्थन गरेको उनले प्रष्ट पारे ।

अहिलेको सरकारबाट धेरै कुरा आशा गर्न नसकिने पनि पोखरेलले प्रष्ट पारे । यो समीकरण मिसन २०८४ को आधार बनाउने गरी बनेको उनले बताए ।

एमालेमाथिका सबै अवरोधलाई विस्थापित गर्न पार्टी सफल भएको उनले बताए । एमालेले राखेको मान्यता राष्ट्रिय राजनीतिमा स्थापित भएको उनले प्रष्ट पारे । त्यसैले एमाले जनताको रोजाइको पार्टी बनेको उनले दाबी गरे ।

‘जनताको रोजाइको पहिलो पार्टी एमाले हो भन्ने कुरामा कुनै सन्देह छैन,’ उनले भने ।

एमालेको परिकल्पना समाजवादमा पुग्ने भए पनि अहिले नै समाजवादमा पुग्न नसकिने पोखरेलले बताए । अहिलेको अवस्थामा समाजवाद परिकल्पना मात्र भएको उनको धारणा छ । अहिलेको आवश्यकता समाजवादको आधार तयार गर्ने मात्र भएको पोखरेलले बताए । समाजवाद एमालेको लक्ष्य भए पनि अहिलेको कार्यभार राष्ट्रिय पुँजी विकास गर्नु रहेको उनले बताए ।

‘समाजवादी मोर्चा बनाएर जाने अवस्था अहिले सिर्जना भएको छैन,’ उनले भने ।

पोखरेलले एमाले कसैको लहैलहैमा लाग्ने पार्टी नभएको बताए । त्यसैले अहिले वामगठबन्धन वा समाजवादी मोर्चा बनाउने कुरा बेकारको कुरा भएको पोखरेलको धारणा छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement