इलाम र बझाङको उपनिर्वाचनले देशमा नयाँ सन्देश दियो : महासचिव पोखरेल


काठमाण्डु – नेकपा एमालेका महासचिव शंकर पोखरेलले इलाम–२ को प्रतिनिधिसभा र बझाङ–१ को प्रदेशसभा उपनिर्वाचनले देशमा नयाँ सन्देश दिएको बताएका छन् ।

शनिबार कीर्तिपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले देशलाई नेतृत्व गर्ने क्षमता एमालेसँग मात्र छ भन्ने कुरालाई उपनिर्वाचनले पुष्टि गरेको बताए ।

‘नेपालको भविष्य नै नेकपा एमाले हो भन्ने सन्देश दिन हामी सफल भएका छौं,’ उनले भने ।

इलामको उपनिर्वाचनले कोशी प्रदेश नामकरणलाई पनि अनुमोदन गरेको उनले बताए । पहिचानको नाममा अस्थिरता मच्चाउनेलाई इलामको निर्वाचनमा मतदाताले अस्वीकार गरेको उनले बताए ।

अर्कोतर्फ इलामका जनताले पपुलिज्मल राजनीति गर्न खोज्नेलाई पनि बहिष्कार गरिदिएका उनले बताए । पुराना दलको काम छैन, अब नयाँ आयौं भन्नेलाई पनि इलामका मतदाताले थला बसाइदिएको उनले टिप्पणी गरे ।

पूर्व राजा ज्ञानेन्द्रलाई राजा आऊ, देश बचाऊ भनेर तमासा देखाउनेलाई पनि इलामको निर्वाचनले पाठ सिकाएको उनले बताए । ६० हजार भोट खसेको इलामको निर्वाचनमा राजावादीले १०० भोट पनि ल्याउन नसकेको पोखरेलले सुनाए । ‘इलामको निर्वाचनले राजावादीको आकांक्षामाथि पानी खन्याइदियो,’ उनले भने ।

बझाङमा प्रदेश सभाको निर्वाचन एमालेले जितेर केन्द्रको समीकरण अनुसार प्रदेश सरकार बनाउन आवश्यक संख्या पुगेको उनले जानकारी दिए । यदि सो स्थानमा कांग्रेसले चुनाव जितेको भए अहिलेको केन्द्रको समीकरण अनुसार प्रदेश सरकार बन्न सक्ने स्थितिलाई सो निर्वाचनले जोगाएको पोखरेलले बताए ।

पोखरेलले जनताले देश बनाउने पार्टी, देशको विकास र समृद्धिको लागि काम गर्ने पार्टी नेकपा एमाले हो भन्ने कुरा पुनः एक पटक प्रमाणित गरिदिएका बताए । ‘देशको भूगोल, जातजाति र सिंगो राष्ट्रलाई जोड्ने सामर्थ्य कुनै पार्टीसँग छ भने त्यो नेकपा एमालेसँग छ,’ उनले भने ।

अहिले देश विकास, समृद्धि र समाजवाद निर्माणको लडाइँमा रहेको पोखरेलले बताए । राष्ट्रलाई यो यात्रामा डोर्‍याउन सिंगो देश जाग्नुपर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement