सरकारमाथि खनिँदै शंकर पोखरेलले भने, ‘फेरि कांग्रेससँग मिलेर लोकतन्त्रको लडाइँ लड्ने समय आयो’

सरकारमाथि खनिँदै शंकर पोखरेलले भने, ‘फेरि कांग्रेससँग मिलेर लोकतन्त्रको लडाइँ लड्ने समय आयो’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाली कांग्रेससँग फेरि सहकार्य गरेर लोकतन्त्रको रक्षा र देशको मुहार परिवर्तन गर्ने समय आएको बताएका छन्।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई आइतबार सम्बोधन गर्दै पोखरेलले कांग्रेस सभापति गगनकुमार थापा गणतन्त्र स्थापनाका लागि भएको आन्दोलनदेखि नै आफूहरूसँग सहकार्यमा रहेको स्मरण गरे।

‘गगनकुमार थापा गणतन्त्र ल्याउने नेतृत्वको आन्दोलनमा हामीसँगै थियौँ। त्रिचन्द्र क्याम्पसको सभाबाट हामी सँगै उभिएका थियौँ। अहिले पुरानो पार्टी कांग्रेसको नेतृत्वमा आउनुभएको छ। यो एकदमै सकारात्मक कुरा हो,’ पोखरेलले भने।

उनले राणा शासन, पञ्चायती व्यवस्था र तत्कालीन राजा ज्ञानेन्द्रको शासनविरुद्ध कांग्रेस र एमालेले मिलेर संघर्ष गरेको स्मरण गर्दै अब पनि लोकतन्त्र र मुलुकको परिवर्तनका लागि सहकार्य आवश्यक रहेको बताए।

‘अब फेरि पनि मिलेर लोकतन्त्र र यो देशको मुहार फेर्न लाग्नुपर्ने समय आएको छ,’ उनले भने, ‘राणा, पञ्चायत र ज्ञानेन्द्र शाहको शासनमा हामी मिलेर गरेका हौँ। अब फेरि पनि कांग्रेससँगको सहकार्यमा लोकतन्त्रको रक्षाका लागि लड्नेछौँ।’

‘सरकार दलहरूसँग संवाद नै गर्दैन’

पोखरेलले वर्तमान सरकार राजनीतिक दलहरूसँग सहकार्य र छलफल नगरी अघि बढिरहेको आरोप लगाए। प्रधानमन्त्रीले संसद् र जनताका आवाज नसुन्ने अवस्था देखिएको भन्दै उनले सरकारको कार्यशैलीप्रति प्रश्न उठाए।

उनले कांग्रेसले आगामी दिनमा लोकतान्त्रिक व्यवस्था र राजनीतिक दलहरूको भूमिकाको संरक्षणका लागि नेतृत्वदायी भूमिका खेल्ने विश्वास व्यक्त गरे।

युवालाई निराश हुन दिनु हुँदैन

एमाले महासचिव पोखरेलले युवाहरूलाई निराश हुन नदिने गरी राजनीतिक दलहरू अघि बढ्नुपर्ने बताए।

युवाका सपना पूरा गर्ने जिम्मेवारीमा सबै राजनीतिक दल मिलेर काम गर्नुपर्ने उनको भनाइ थियो।

‘युवाहरूलाई निराश हुन दिनु हुँदैन। युवाका सपनाहरू पूरा गर्ने जिम्मेवारीमा हामी सबै मिलेर जानुपर्छ,’ उनले भने।

पोखरेलले कांग्रेसको १५औँ महाधिवेशनले नेपाली जनता र जनभावनासँग जोडिएका विषयलाई उठाउँदै नयाँ राजनीतिक एजेन्डा अघि सार्ने विश्वास पनि व्यक्त गरे।

सूचना प्रविधिको विकासमा कांग्रेस र एमालेले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै उनले बदलिँदो समयअनुसार राजनीतिक दलहरूले पनि आफूलाई रूपान्तरण गर्नुपर्ने धारणा राखे।