काठमाण्डु- नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिक दल, संसद् र नागरिकसँग संवाद नगरी अघि बढेको भन्दै प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारको कार्यशैलीमाथि कडा प्रश्न उठाएका छन् ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन समारोहमा आइतबार शुभकामना मन्तव्य दिँदै पोखरेलले सरकारको यही शैलीले राष्ट्रिय संकट सामना गर्न सक्नेमा मात्रै नभई लोकतन्त्रको भविष्यमै शंका उत्पन्न भएको बताए ।
उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राष्ट्रिय मुद्दामा दलहरूलाई एक ठाउँमा ल्याउन संवाद गरिरहेको उल्लेख गर्दै सरकारको शैली त्यसको ठीक विपरीत रहेको बताए ।
‘रवि लामिछानेजी राष्ट्रिय मुद्दामा दलहरुलाई एक ठाउँमा ल्याउन प्रयास गर्नुहुन्छ, दलहरूसँग संवाद गर्नुहुन्छ । तर, सरकार दलहरूसँग संवाद गर्दैन, संसद्सँग संवाद गर्दैन, प्रधानमन्त्री आफ्नै नागरिकसँग संवाद गर्नुहुन्न,’ पोखरेलले भने ।
सरकारले आफूलाई निर्वाचित गर्ने संसदीय दलकै कुरा नसुन्ने र जनताका आवाजसमेत नसुन्ने अवस्था देखिएको भन्दै उनले प्रश्न गरे, ‘हामी लोकतन्त्रका लागि हिँडेका छौँ कि तानाशाहीको बाटोमा हिँडेका छौँ ?’
सरकारको संवादहीन कार्यशैलीले प्राकृतिक विपत्तिलगायत आगामी चुनौतीको सामना कसरी गर्ने भन्नेमा प्रश्न उठेको पोखरेलले बताए ।
उनले नेपालका वामपन्थी र लोकतन्त्रवादी शक्तिहरू मिलेर राणा शासन, पञ्चायत तथा राजा ज्ञानेन्द्रको निरंकुशता परास्त गरेको स्मरण गर्दै फेरि लोकतन्त्रवादी शक्तिहरू एक ठाउँमा उभिनुपर्ने अवस्था आएको बताए ।
राजनीतिक स्थायित्वका लागि जनताले म्यान्डेट दिए पनि अहिले आशंका उत्पन्न भएको उनको भनाइ थियो । भू–राजनीतिक द्वन्द्वका कारण नेपालको अस्तित्व र राष्ट्रियतामाथि चुनौती आउन सक्ने भन्दै पोखरेलले दलहरू एक ठाउँमा उभिएर जनता र छिमेकी मुलुकलाई आश्वस्त पार्नुपर्ने बताए ।
‘भू–राजनीतिक कारणले नेपालको राष्ट्रियतामा खलल पुग्दैन, छिमेकीहरूको सुरक्षामा असर पर्दैन भन्ने विश्वास दिलाउनुपर्ने अवस्था आएको छ,’ उनले भने ।
पोखरेलले जनताले सुशासन, प्रभावकारी सेवा प्रवाह र तीव्र विकासको अपेक्षा गरे पनि त्यसअनुसार काम हुन नसकेको बताए । युवाहरूले देशमै रोजगारी पाउने आशा गरेको भए पनि विदेश जाने युवाको चापले निराशा बढाएको उनको भनाइ थियो ।
‘सेवा प्रवाह लथालिंग भएको छ । सुशासन छैन । युवाहरूले देशमै रोजगारी पाउने आशा गरेका थिए। तर, विमानस्थलको दृश्यले त्यो संकेत गरेको छैन,’ उनले भने, ‘युवाहरूको आकांक्षालाई निराशामा बदल्नु हुँदैन ।’
इतिहासबाट पाठ नसिक्नेहरूलाई इतिहासले सजाय दिने भन्दै उनले अहिलेको राजनीतिक अवस्थाप्रति प्रश्न उठाए । ‘इतिहासबाट सिक्न नसक्नेहरूलाई इतिहासले सजाय दिन्छ । कतै हामी सजायको प्रतीक्षा त गरिरहेका छैनौँ ?’ पोखरेलले भने ।
उनले राजनीतिक परिवर्तन केवल अनुहार परिवर्तनमा सीमित हुन नहुने बताए । लोकतन्त्र, सार्वभौमसत्ता र जनताको परिवर्तनको आकांक्षाको रक्षाका लागि वाम लोकतान्त्रिक राजनीतिक शक्तिबीच सहकार्य आवश्यक रहेको उनको भनाइ थियो ।
‘लोकतन्त्रको रक्षाको प्रश्नमा, सार्वभौमसत्ताको रक्षाको प्रश्नमा र नेपाली जनताको परिवर्तनको आकांक्षामा दलहरू मिलेर काम गर्नुपर्छ,’ पोखरेलले भने, ‘त्यसका लागि एमाले कांग्रेससँग मिलेर काम गर्न तयार छ ।’




प्रतिक्रिया