काठमाण्डु – लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पद तथा गोपनियताको शपथ लिएका छन् । आइतबार साँझ मुख्यमन्त्री पोखरेलले प्रदेश प्रमुख धर्मनाथ यादव समक्ष पद तथा गोपनियताको शपथ लिएका हुन् ।
आइतबार बिहान पदबाट राजीनामा दिएका मुख्यमन्त्री पोखरेल नेकपा एमाले संसदमा सबै भन्दा ठूलो दलको हैसियतामा पुनः मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।
मुख्यमन्त्री पोखरेलले विपक्षीको नाराबाजीकाबीच शपथ ग्रहण गरेका हुन् । मुख्यमन्त्रीमा पोखरेलको नियुक्तिपछि विपक्षी गठबन्धनका प्रदेशसभा सदस्य आज प्रदेश प्रमुखको कार्यालय परिसरमा धर्ना बसेका हुन् । उनीहरुले प्रदेश प्रमुखले विधि र पद्धतिको उल्लङ्घन गर्दै असंवैधानिक कदम चालेको आरोप लगाएका छन् ।
विपक्षी नेपाली काङ्ग्रेस संसदीय दलका प्रमुख सचेतक फकरुद्धिन खाँनले प्रदेश उपसभामुखको समेत कीर्ते हस्ताक्षर भएको र बहुमत सदस्य आफूहरुका पक्षमा रहेको जिकिर गरे ।
कुल ८१ प्रदेशसभा सदस्यमध्ये विपक्षी गठबन्धनमा ४२ प्रदेशसभा सदस्य रहेको जिकिर गरिएको छ छ । विपक्षी गठबन्धनमा नेपाली काङ्ग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी छन् ।
‘हामी बहुमत सदस्यसहित आउँदैछौँ भनेर जानकारी गराउँदा गराउँदै पनि प्रदेश प्रमुखले असंवैधानिक कदम चाल्नुभयो’, खाँनले भने ।




प्रतिक्रिया