सेनाले काठमाडौं–तराई द्रुतमार्गमा प्राविधिक सहायक रथी श्रेष्ठलाई पुनर्बहाली गर्‍यो


काठमाडौं – काठमाडौं–तराई–मधेश द्रुतमार्ग सडकको प्रमुखमा प्राविधिक सहायक रथी शरदलाल श्रेष्ठलाई पुनर्बहाली गरिएको छ ।

राष्ट्रिय गौरवको उक्त आयोजना तोकिएको समय सीमाभित्र गुणस्तरीय ढंगबाट सम्पन्‍न गर्न नेपाल सरकारको प्रचलित ऐन कानूनको परिधिभित्र रहि खरिद प्रक्रियालाई अझ व्यवस्थित र पारदर्शी बनाउने गहन जिम्मेवारीका साथ आयोजना प्रमुखको रुपमा प्राविधिक सहायक रथी श्रेष्ठलाई पुनर्बहाली गरिएको सेनाले जनाएको छ ।

सहायक रथी श्रेष्ठको विषयमा विभिन्‍न प्रकाशनमा सार्वजनिक भएका समाचारका सम्बन्धमा गठित छानबिन समितिले प्राविधिक त्रुटि बाहेक कुनै पनि नियोजित त्रुटि नभएको र सोमा उनको संलग्नता नपाएको नेपाली सेनाले बताएको छ ।

साथै सहायक रथी श्रेष्ठले जिम्मेवारी लिएका विगतका कार्यहरुमा देखाएको कार्यदक्षता तथा पेशागत क्षमतालाई मनन गर्नुका साथै राष्ट्रिय गौरवको यस आयोजनालाई तोकिएको समयमा नै उत्कृष्ट ढंगबाट सम्पन्‍न गर्ने जिम्मेवारी निर्वाह गर्न आयोजना प्रमुखको रुपमा निरन्तरता दिईएको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालय, जंगी अड्डाले बताएको छ ।

साथै, प्रधानसेनापतिको आर्थिक अनियमिततामा शुन्य सहिशुष्णताको नीतिलाई अवलम्बन गरी नेपाली सेनाले उक्त आयोजनामा संलग्न गैर सैनिक जनशक्तिको प्रभावकारी परिचालन, आयोजना अन्तरगतका सेक्टर तथा कार्यदल वेशहरुलाई थप सक्रिय तुल्याई राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय विज्ञहरुको पारदर्शीपूर्वक छनौट तथा ब्यवस्थापकीय पक्षहरुमा विशेष जोड दिईएको छ ।

उक्त आयोजनाको नियमित निगरानी, मूल्यांकन तथा थप प्रभावकारी ब्यवस्थापनको लागि अत्याधुनिक प्रविधिहरु (ड्रोन समेत) को प्रयोग गरी निर्माण कार्यलाई तिव्रता दिइने योजना रहेको सेनाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

उक्त आयोजनाको कार्यान्वयनसँग नेपाली सेनामाथि नेपाली नागरिक तथा नेपाल सरकारको विश्वास र भरोसा गाँसिएको तथ्यलाई मनन् गरी आयोजनालाई पूर्णपारदर्शी, नियमसँगत, गुणस्तरीय रुपमा समय सीमाभित्र सम्पन्‍न गर्ने लक्ष्य नेपाली सेनाले लिएको छ ।

साथै राष्ट्रिय गौरवको उक्त आयोजनाको सफलताले नेपाली सेनामाथि समग्र नागरिक र राष्ट्रको विश्वास थप मजबुत बनाउने अपेक्षा नेपाली सेनाले लिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement