लगानीकर्तालाई बजेट मन परेन, सेयर बजारमा २६ अंकको पहिरो

लगानीकर्तालाई बजेट मन परेन, सेयर बजारमा २६ अंकको पहिरो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– आर्थिक वर्ष २०८३/८४ को बजेट पश्चात खुलेको सेयर बजार राताम्मे भएको छ । शुक्रबार अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेटमार्फत सेयर बजारका विषयमा ल्याएको नयाँ व्यवस्था लगानीकर्ताले मन नपराएका हुन् ।

यसदिन बजार २६.७२ अंकले घटेर परिसुचक २७५५ मा झरेको छ ।

आज कारोबार रकम पनि घटेको छ । अघिल्लो कारोबारका दिन ६ अर्ब ३ करोडको कारोबार भएकोमा आज ५ अर्ब ६१ करोडमा खुम्चियो । आज ३५ कम्पनीको मूल्य बढ्दा २३३ को घट्यो भने २ को स्थिर रह्यो ।

आज कारोबार रकमका आधारमा आँखुखोला जलविद्युत्, नेपाल पुनर्बीमा, हिमालयन रिइन्स्योरेन्स, रिडी पावर र नेसनल हाइड्रोपावर अगाडि रहे ।

नेपाल रि इन्सोरेन्स कम्पनी र कालिञ्चोक हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक १४ प्रतिशतले बढ्यो भने बुङ्गल हाइड्रोको १३ प्रतिशतले घट्यो ।

बैंकिङ ०.९९, विकास बैंक ०.८१, फाइनान्स ०.५०, होटल तथा पर्यटन १.४०, जलविद्युत् १.९७, लगानी १.२२, जीवन बीमा ०.७९, उत्पादन तथा प्रशोधन १.४२, माइक्रोफाइनान्स ०.९० प्रतिशत घटे । व्यापार समूह सबैभन्दा धेरै ६.१४ प्रतिशत घट्यो ।

बजेटले पूँजीगत लाभकर साढे २ प्रतिशत विन्दुले बढाएर अल्पकालीन (१ वर्षभन्दा कम अवधि) का लागि १० प्रतिशत र दीर्घकालीन (१ वर्षमाथिको अवधि)का लागि साढे ७ प्रतिशत कायम गरेको थियो ।