शेयर बजारमा दोहोरो अंकको गिरावट


काठमाण्डु – शेयर बजारमा आज बुधबार दोहोरो अंकको गिरावट आएको छ ।

बुधबार नेप्से परिसूचक १९.९८ अंकले घटेर २००२.९२ अंकमा आइपुगेको छ । बजार ०.९८ प्रतिशतले ओरालो लाग्ने क्रममा कारोबारमा आएका २८२ स्क्रिप्टमध्ये १९३ वटाको मूल्य घटेको छ । ३४ वटा स्क्रिप्टको मूल्यमा भने सुधार आएको छ ।

कारोबार सुरू भएको केही समय स्थिर रहेर नेप्से निरन्तर घटेको हो । आज बुधबारको बजारमा ७० लाख ६१ हजार कित्ता शेयर १ अर्ब ८१ करोड ४३ लाख ५९ हजारमा किनबेच भए । सबैभन्दा बढी कारोबार सन नेपाल लाइफको भएको छ । कम्पनीको ७ करोड ६२ लाख रुपैयाँको शेयर किनबेच हुँदा ६ करोड १९ लाख रुपैयाँसहित एनआईसी एसिया दोस्रो स्थानमा रहेको छ ।

रिलायबल लाइफ, शिवम् सिमेन्ट र नागरिक लगानी कोषको शेयर किनबेचमा पनि लगानीकर्ताको सक्रियता देखिएको छ ।

नेप्से घटे पनि मनकामना इन्जिनीयरिङ हाइड्रो पावरको शेयर मूल्यमा सर्वाधिक वृद्धि भएको छ । लक्ष्मी भ्यालु फन्ड २ को मूल्यमा ऋणात्मक सर्किट लाग्दा शुभम् पावरको मूल्य करीब १० प्रतिशतले घटेको छ ।

दिनभर कूल ५८ हजार ३६७ कारोबार भए । कारोबार संख्याका आधारमा सन् नेपाल लाइफ शीर्ष स्थानमा रहेको छ ।

बुधबार कारोबारमा आएका सबै समूहगत उपसूचक घटेका छन् । जलविद्युत् समूहमा सर्वाधिक १.५१ प्रतिशतको गिरावट आएको छ भने वित्त समूह १.४२ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement