सेयर बजारमा हरियाली, नेप्से परिसूचक २९.६४ अंकले वृद्धि


काठमाण्डु – साताको अन्तिम दिन सेयर बजार मापक नेप्सेले नयाँ रेकर्ड कायम गरेको छ । आज नेप्से २९ दशमलव ६४ अंकले बढेर २८५६.७७ अंकमा पुगेको छ । यो हालसम्मकै उच्च विन्दु हो ।

हिजो अर्थात बुधबार ११ अर्बमाथिको कारोबार भएको बजारमा आज करिब १७ अर्ब रुपैयाँको कारोबार भएको छ । आज नेप्सेमा ३ करोड ४६ लाख ९१ हजार ३१२ कित्ता सेयर किनबेच हुँदा १६ अर्ब ९० करोड ७० लाख २० हजारको कारोबार भएको छ ।

नेप्सेका आज अहिलेसम्मको दोस्रो उच्च रकमको कारोबार भएको हो । यसअघि, गएको आइतबार १७ अर्बमाथिको कारोबार भएको थियो । आज नेप्सेमा विकास बैंक उपसूचक सर्वाधिक ३.७४ प्रतिशतले वृद्धि हुँदा वित्त कम्पनी उपसूचक ३.३४ प्रतिशत, होटेल तथा पर्यटन उपसूचक ३.३२ प्रतिशत र बैंकिङ उपसूचक २.७१ प्रतिशतचले बढेको छ ।

बैंकिङ क्षेत्रमा लगानीकर्ताको आकर्षण देखिएको छ । यता हाइड्रोपावर उपसूचक भने सर्वाधिक २.०४ प्रतिशतले घटेको छ । ‘क’ वर्गका कम्पनीलाई मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि ७.८६ अंकले बढेर ५१३.११ अंकमा पुगेको छ ।

नेपाल पुनर्बिमा कम्पनीको लगातार दोस्रो दिन पनि अर्बमाथिको कारोबार भएको छ । आज कम्पनीको १ अर्ब २ करोड ७० लाख २७ हजारको कारोबार हुँदा छिमेक लघुवित्तको ६८ करोड १६ लाख ५० हजार र लुम्बिनी विकास बैंकको ३५ करोड ५ लाख ९२ हजारको कारोबार भएको छ ।

त्यस्तै, नेपाल बंगलादेश बैंकको ३३ करोड २२ लाख ७१ हजार र नेपाल इन्फ्रास्ट्रक्चर बैंकको ३३ करोड १३ लाख ८७ करोडका कारोबार भएको छ ।

आज कारोबारमा आएमा मध्ये चार कम्पनीको सेयर मूल्य बढेर सर्किट लेभलमा बन्द भएको छ । सेयर मूल्य बढेर सर्किट लेभलमा बन्द हुनेमा मन्जुश्री फाइनान्स, महिला लघुवित्त, गुडविल फाइनान्स र ग्रिन डेभलपमेन्ट बैंक रहेका छन् । यस्तै, साइन रेसुंगा डेभलपमेन्ट बैंकको सेयर मूल्य पनि ७.९५ प्रतिशतले बढेको छ ।

पञ्चकन्या माइ हाइड्रोपावरको सेयर मूल्य ५.९२ प्रतिशतले गिरावट हुँदा ३६.५ प्रतिशत बोनस सेयर र त्यसपछि १४७ प्रतिशत हकप्रद प्रस्ताव गरेको राधि विद्युत् कम्पनीको सेयर मूल्य पनि ५.०६ प्रतिशतले घटेको छ । सेयर मूल्य धेरै घट्नेमा जलविद्युत् कम्पनी नै अगाडि रहेका छन् ।

आज कारोबार भएका ९९ कम्पनीको सेयर मूल्य वृद्धि हुँदा ८१ कम्पनीको सेयर मूल्य घटेको छ । दुई कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement