शेयर बजार सुधारउन्मुख, बुधवार भयो ८२ करोड भन्दा बढीको कारोबार


काठमाडौं – शेयर बजार बुधवार पनि उकालो लागेको छ । चैत महिनाको अन्तिम साताबाट सुधार हुदै आएको शेयर बजार बुधवार पनि ४.९९ अंकले उकालो लागेको हो । सूचकमा आएको सुधार र कारोबार रकममा देखिएको वृद्धिले बजारमा नयां लगानीकर्ता प्रवेश गरेको आंकलन गरिएको छ ।

नेप्से सूचकले १२ सय अंकको मनोवैज्ञानिक अवरोध तोडेपछि शेयर बजारका लगानीकर्तामा आत्मबल बढेको विश्लेषकहरुको दावी छ ।  १७१ कम्पनीका २८ लाख १ हजार ६१३ कित्ता शेयर किनबेच भएर ८२ करोड १६ लाख रुपैयां बराबरको कारोवार भएपछि नेप्से परिसूचक ४.९९ अंकले बढेर १२१७.०४ विन्दुमा पुगेको छ ।

बुधबार जीवन बीमाको सूचक सबैभन्दा धेरै ३८.१९ अंकले बढेको छ । यस्तै वाणिज्य बैंक .९३, विकास बैंक ४.०९ र होटल १.६३ अंकले सुधार भएका हुन् । यता माइक्रोफाइनान्सको सुचक सबैभन्दा धेरै १४.०२ अंकले घटेको छ । यस्तै निर्जीवन बीमा ९.३, उत्पादन तथा प्रशोधन ८.४२, हाइड्रोपावर ०.४४, अन्य ०.२७ र फाइनान्स  १३ अंकले नकारात्मक बनेका छन् ।

बुधवार सबैभन्दा बढी एनएमबि बैंकको कारोबार भएको छ । बैंकले राम्रो आम्दानी गर्न सक्ने आंकलनपछि एनएमबि बैंकको ७ करोड २६ लाख रुपैयां बराबरको शेयर खरिद कारोबार भएको हो ।

यस्तै एनआईसि एशिया बैंक, नेपाल बैंक, प्रभु बैंक ४ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ । बुधबारको कारोबारबाट सिभिल लघुवित्तका शेयरधनीरुले सबै भन्दा धेरै ५.७५ अंकले कमाएका छन् । युनिर्भसल पावरको शेयरमूल्य ५.५६ अंकले बढेको छ ।

सूचीकृत कम्पनीहरुले धमाधम चालु आर्थिक बर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्दै गर्दा कम्पनीहरुले पस्कने नाफा र आगामी बर्ष दिने प्रतिफलको लेखाजेखा गरी लगानीकर्ता शेयर खरिदबिक्रीमा व्यस्त देखिएको विश्लेषण गरिएको छ ।  शेयर बजारमा चैत्र महिनाको अन्तिमबाट सुधार आएको हो । यसअघि दैनिक ३० करोडको मात्र कारोबार हुनेमा अहिले कारोबार तेब्बर भएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement