सेवा शुल्क तोक्ने अधिकार सेयर ब्रोकरलाई


काठमाडौं – एक सय दिनभन्दा बढी समय लगाएर तयार पारिएको मार्जिन लेन्डिङको कार्यविधि मस्यौदाले अन्तिम रुप लिएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) र ब्रोकर (सेयर दलाल)बीच पटकपटक भएको छलफलपछि तयार पारिएको उक्त मस्यौदा नेप्सेको सञ्चालक समितिले पारित गरेको छ ।

मस्यौदालाई अन्तिम रुप दिन नेप्सेलाई हम्मे परेको थियो । खासगरी ब्रोकर र नेप्सेका उच्च अधिकारीबीच ब्रोकर कम्पनीको चुक्ता पुँजीका विषयमा विवाद भएको थियो ।

अन्ततः मार्जिन कारोबार सुविधा दिने ब्रोकर कम्पनीको खुद सम्पत्ति कम्तीमा पाँच करोड रुपैयाँ हुनुपर्नेमा सहमति भएको छ । तर, सेवा शुल्कका विषयमा भने मस्यौदामा केही उल्लेख गरिएको छैन ।उक्त मस्यौदामा सेयर धितोमा राख्दा लिइने सेवा शुल्क तोक्ने अधिकार ब्रोकरलाई छाडिएको नेप्सेका प्रमुख कार्यकारी अधिकृत (सिइओ) चन्द्रसिंह साउदले बिहीबार नागरिकलाई बताए । ‘ब्रोकरले लिने सर्भिस चार्ज ब्रोकरको तजबिजीमै छाडिएको छ,’ उनले भने, ‘ब्रोकरले ग्राहकलाई उचित सुविधा दिन्छन् भन्ने मान्यताका आधारमा सेवा शुल्क खुला राखिएको हो ।’

नेप्सेले उक्त मस्यौदा आइतबार नेपाल धितोपत्र बोर्डमा पठाउने छ । धितोपत्र बोर्डले अनुमोदन गरेपछि ब्रोकरले आफ्ना ग्राहकलाई मार्जिन ऋण दिने प्रक्रिया अघि बढाउन सक्नेछन् । ‘आज (बिहीबार) सम्भव नभएकाले ६ गते मात्र बोर्डमा पठाउँदैछौं,’ साउदले भने, ‘त्यसपछि मस्यौदाले अन्तिम रुप लिनेछ ।’

सेयर धितो राखी बैंकबाट कर्जा लिँदै आएका लगानीकर्ताले सेयर धितोमा राखी ऋण लिन बैंकसम्म धाउनु पर्ने छैन । सेयर किनबेचमा सहजीकरण गर्ने ब्रोकर कम्पनीले नै सेयर धितो राखेर कर्जा दिन पाउने व्यवस्था गरेपछि लगानीकर्तालाई बैंकसम्म पुग्नु नपर्ने भएको हो ।

बोर्डले नेप्सेलाई मार्जिन लेन्डिङको कार्यविधि तयार पारेर पठाउन कात्तिक २० गते निर्देशन दिएको थियो । कार्यविधि पूर्ण रुपमा कार्यान्वयनमा आए सेयर लगानीकर्ताले बैंक तथा वित्तीय संस्थामा सेयर धितो राखेर ऋण लिन जान पाउने व्यवस्थाको अन्त्य हुनेछ ।‘प्रारम्भिक चरणमा लगानीकर्ता बैंंक जानुपर्ने अवस्थाको अन्त्य नभए पनि विस्तारै अन्त्य हुन्छ,’ एक ब्रोकरले भने, ‘ग्राहकलाई सानोतिनो ऋण लिन बैंक तथा वित्तीय संस्थामा जानुपर्ने व्यवस्था भने यो लागू भएदेखि नै अन्त्य हुनेछ ।’

यसरी मार्जिन ट्रेडिङ अन्तर्गत किनिएको सेयर सम्बन्धित व्यक्तिको नाममा नै हुन्छ । तर, यस्तो सेयर खरिद गर्नेले बिक्री गरेर पैसा लान भने पाउँदैन । मार्जिन ट्रेडिङमा किनिएको सेयर ब्रोकरकहाँ धितो राखिएको हुन्छ । ब्रोकरले त्यही सेयर धितो राखेर बैंकबाट कर्जा लिएको हुन्छ । र, त्यही कर्जाको रकम सेयरधनीले प्रयोग गर्नेछ ।

मार्जिन कारोबार सुविधा उपलब्ध गराउने धितोपत्र दलाल व्यवसायीको खुद सम्पत्ति कम्तीमा पाँच करोड रुपैयाँ हुनुपर्ने व्यवस्था गरेको छ । तर, अहिले कुल ५० ब्रोकर कम्पनीमध्ये ८–१० वटाको मात्रै खुद सम्पत्ति पाँच करोड रुपैयाँ भएको ब्रोकर बताउँछन् ।

गत पुस मसान्तसम्म ब्रोकर कम्पनीको चुक्ता पुँजी दुई करोड हुनुपर्ने व्यवस्था बोर्डले गरेको छ । अहिलेलाई बोर्डले दुई करोड पुँजी हुने ब्रोकरलाई चार कारोडसम्मको मार्जिन कारोबार गर्ने सुविधा दिएको भए राम्रो हुने तर्क ब्रोकरको छ । ‘यद्यपि धितोपत्र बोर्डले जे गरेको छ ठिकै गरेको छ,’ ती ब्रोकरले भने, ‘यस्तो व्यवस्थाले दोस्रो बजारलाई थप चलायमान बनाउनेछ र बजारमा सकारात्मक प्रभाव पर्नेछ ।’

कम्तीमा १० हजार सेयरधनी रहेको तथा नेटवर्थ सकारात्मक भई पछिल्लो दुई आर्थिक वर्षमा कम्तीमा वार्षिक १० प्रतिशत लाभांश वितरण गरेको सूचीकृत संगठित संस्थाको सेयरमा मात्र मार्जिन कारोबार सुविधा उपलब्ध गराउन सक्ने व्यवस्था मस्यौदामा उल्लेख छ ।

धितोपत्र दलाल व्यवसायीले सूचीकृत संगठित संस्थाको सेयरको एक सय ८० दिनको औसत मूल्य वा बजार मूल्यमध्ये जुन कम हुन्छ, सोको ५० प्रतिशतले हुन आउने रकम ग्राहकसँग प्रारम्भिक मार्जिनको रुपमा लिनुपर्ने गरिएको छ । अहिले वाणिज्य बैंकले जे व्यवस्था गरेको छ, त्यही किसिमको व्यवस्था छ ।

धितोपत्र दलाल व्यवसायीले मार्जिन कारोबार सुविधा अवधिभर बजारको अवस्था तथा जोखिम हेरी ग्राहकसँग न्यूनतम ४० प्रतिशत मेन्टिनेन्स मार्जिन लिनुपर्ने व्यवस्था छ ।

ग्राहकले मार्जिन कारोबारमा खरिद गरेको सेयरमा आवश्यक पर्ने मेन्टिनेन्स मार्जिन भुक्तान गर्न नसकेमा धितोपत्र दलाल व्यवसायीले सो सेयर बिक्री गर्न सक्ने व्यवस्था पनि गरिएको छ । धितोपत्र दलाल व्यवसायीले आफ्नै स्रोत वा वाणिज्य बैंकसँग रकम लिएर मार्जिन कारोबार सुविधा प्रदान गर्न सक्नेछन् ।

धितापत्र दलाल व्यवसायीले आफ्नो प्रमाणित नेटवर्थको दुई गुणासम्म मार्जिन कारोबार सुविधा उपलब्ध गराउन सक्ने व्यवस्था गरिएको छ । ब्रोकर कम्पनीको पाँच करोडको खुद सम्पत्ति छ भने उसले १० करोडसम्म मार्जिन कारोबार गर्न सक्नेछन् ।

धितोपत्र दलाल व्यवसायीले कुनै एक ग्राहक तथा निजको एकाघरका सदस्यलाई आफ्नो नेटवर्थको बढीमा १० प्रतिशतसम्म मात्र कारोबार सुविधा उपलब्ध गराउन सक्नेछन् ।धितोपत्र दलाल व्यवसायीले मार्जिन कारोबार सुविधा उपलब्ध गराउँदा ग्राहकसँग सम्झौता गरी सुरु मार्जिन, सम्भार मार्जिन दर, मार्जिन कल, सेवा शुल्क, खरिद गर्ने सेयरको विवरण जस्ता सर्त र व्यवस्थाहरु खुलाउनु पर्नेछ ।

साथै, यस सुविधा अन्तर्गत खरिद गरिएको सेयरसहितको मार्जिन रकम विवरण ग्राहकको छुट्टाछुट्टै अभिलेख बनाई राख्नुपर्ने, लेखापरीक्षण गरिएको कारोबार भएको सेयरको हिसाब–किताब तथा लेखा बोर्ड र धितोपत्र बजारलाई पेस गर्नुपर्ने तथा ग्राहकको परिस्कृत पहिचान गर्नुपर्ने व्यवस्था गरिएको छ ।

अन्तर्राष्ट्रिय मूल्य र मान्यता अनुरुपको मार्जिन कारोबार सुरु गर्न लगानीकर्ता तथा धितोपत्र दलाल व्यवसायीले माग गर्दै आएका थिए । धितोपत्र दलाल व्यवसायीको कार्यक्षेत्र विस्तार गर्ने सम्बन्धमा बोर्डको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेत रहेको थियो । आजको नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement