काठमाण्डु– अर्थ मन्त्रालयले पुँजी बजार सुधारका लागि २१ बुँदे कार्ययोजना सार्वजनिक गरेको भोलिपल्ट मंगलबार सेयर बजारका लगानीकर्तामा उत्साह देखिएको छ ।
लगानीकर्ताले उठाउँदै आएका विषय सम्बोधन हुने गरी मन्त्रालयले सुधारका कार्यक्रम अघि सारेपछि त्यसको प्रभाव बजारमा देखिएको हो ।
मंगलबार प्रि–ओपन कारोबारमै नेप्से ८६ अंकले बढेर कारोबार बन्द भएको थियो । अधिकांश कम्पनीको सेयर मूल्य बढेपछि नेप्से २ हजार ६ सय ७१ अंकभन्दा माथि पुगेको थियो ।
त्यसपछि खुलेको बजारमा केही उतारचढाब देखिएको छ । यो समाचार तयार पार्दासम्म नेप्से २ हजार ६ सय १४ बिन्दुमा छ ।
अर्तमन्त्री डा. स्वर्णिम वाग्लेले सोमबार सार्वजनिक गरेको २१ बुँदे कार्ययोजनामा सेयर बजारको कर प्रणालीमा सुधार, लगानीकर्ताको नाफा–घाटा समायोजन, बैंक तथा वित्तीय संस्थाको बजार सहभागिता सहज बनाउने, मार्जिन कारोबार विस्तार तथा दोस्रो बजारमा कारोबारका थप विकल्प ल्याउने विषय समेटिएका छन् ।
त्यस्तै, संस्थागत लगानीकर्ताको सहभागिता बढाउने, गैरआवासीय नेपालीलाई दोस्रो बजारको कारोबारमा भित्र्याउने, नेपाल स्टक एक्सचेन्जको संरचनागत सुधार गर्ने र ऋणपत्र बजार विस्तार गर्ने विषयलाई पनि सरकारले प्राथमिकतामा राखेको छ ।
लामो समयदेखि लगानीकर्ताले पुँजी बजारको विस्तार र कारोबारलाई सहज बनाउन यस्ता सुधारको माग गर्दै आएका थिए। सरकारले ती मागमध्ये महत्वपूर्ण विषयलाई नीतिगत रूपमा सम्बोधन गर्ने घोषणा गरेपछि बजारमा सकारात्मक मनोविज्ञान बनेको देखिन्छ ।
मौजुदा करसम्बन्धी व्यवस्थामा सुधार, बैंक तथा संस्थागत लगानीकर्ताको सहभागिता वृद्धि तथा मार्जिन र अन्य कारोबार प्रणाली विस्तार गर्ने घोषणाले लगानीकर्ता उत्साहित छन् ।




प्रतिक्रिया