काठमाण्डु– नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सूचीकृत कम्पनीका संस्थापक तथा आधारभूत सेयरधनीले सेयर बिक्री गर्ने प्रक्रियासम्बन्धी व्यवस्थामा संशोधन गरेको छ ।
बोर्डले शुक्रबार जारी गरेको निर्देशनअनुसार, कम्पनीको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) का बेला कायम आधारभूत सेयरधनीले आफ्नो स्वामित्वमा रहेको १५ प्रतिशत वा सोभन्दा बढी सेयर बिक्री गर्न चाहे बिक्रीसम्बन्धी सूचना पाँच कारोबार दिनअघि सम्बन्धित कम्पनीलाई दिनुपर्ने भएको छ ।
यसअघि पाँच प्रतिशत वा सोभन्दा बढी सेयर बिक्री गर्न चाहने सेयरधनीले बिक्री गर्नुभन्दा १५ दिनअघि कम्पनीलाई जानकारी गराउनुपर्ने व्यवस्था थियो ।
संशोधित व्यवस्थाअनुसार, सम्बन्धित कम्पनीले सेयर बिक्रीको सूचना प्राप्त गरेपछि यथाशीघ्र नेपाल स्टक एक्सचेन्ज (नेप्से) मार्फत सार्वजनिक गर्नुपर्नेछ । यस्तो बिक्री आशयको सूचनाको वैधता तीन महिनासम्म कायम रहनेछ ।
सेयर किन्ने जानकारी पनि सार्वजनिक गर्नुपर्ने
बोर्डले सेयर बिक्री गर्ने आशयको सूचना दिए पनि चाहेको सबै सेयर बिक्री नगरेका वा आंशिक रूपमा मात्रै बिक्री गरेका सेयरधनीका लागि अर्को व्यवस्था पनि थप गरेको छ ।
त्यस्ता सेयरधनीले पुनः त्यही कम्पनीको सेयर खरिद गरेमा कारोबार सम्पन्न भएपछि यथाशीघ्र खरिदसम्बन्धी विवरण सम्बन्धित सूचीकृत कम्पनीलाई दिनुपर्नेछ ।
खरिदको मूल्य र परिमाणसहितको विवरण प्राप्त भएपछि कम्पनीले त्यसलाई पनि यथाशीघ्र नेप्सेमार्फत सार्वजनिक गर्नुपर्नेछ ।
धितोपत्र कारोबारलाई सुदृढ, प्रभावकारी र विश्वसनीय बनाउने तथा धितोपत्र बजार र व्यवसायीको कारोबार नियमन एवं अनुगमन गर्ने उद्देश्यले बोर्डले धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ८४ को उपदफा (१) बमोजिम यसअघि जारी निर्देशनमा संशोधन गरेको जनाएको छ ।
मुख्य हेरफेर : सेयर बिक्रीको पूर्वसूचना दिनुपर्ने सीमा पाँच प्रतिशतबाट बढाएर १५ प्रतिशत पुर्याइएको छ । साथै, बिक्रीको आशय सार्वजनिक गरिसकेपछि सोही कम्पनीको सेयर पुनः खरिद गरेमा त्यसको विवरण सार्वजनिक गर्नुपर्ने व्यवस्था थपिएको छ ।



प्रतिक्रिया