नेप्सेमा पहिरो : सर्किट ब्रेक लगाउँदा ५२ अंकले घट्याे


काठमाडौँ-  धितोपत्र बजार आज करिब ५२ अंकले ओरालो लागेको छ । बजार खुलेलगत्तै तीन प्रतिशतको दरले बजार ओरालो लागेपछि नेपाल स्टक एक्स्चेन्जले ‘सर्किट ब्रेक’ नै लगाउनु परेको थियो । बजार नराम्ररी आरालो लागेपछि लगानीकर्तामा मनोवैज्ञानिक प्रभाव परेको छ । नेप्से परिसूचक ओरालो लागे पनि कारोबार रकम भने आज ४७ करोड ३३ लाख ९५ हजार ४११ को भएको छ ।

आज कूल १५७ कम्पनीको १५ लाख ५८ हजार ८०४ कित्ता शेयर खरिद बिक्री भएको स्टकले जनाएको छ । कूल ५२ बिन्दुले बजार ओरालो लाग्दा नेप्से परिसूचक एक हजार १६८ बिन्दुमा आइपुगेको छ । यो पछिल्लो दुई वर्षकै सबैभन्दा न्यून बिन्दु हो ।

आज ‘क’ वर्गका कम्पनीको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत १०.७६ बिन्दुले आरोलो लागेर २४९.६५ बिन्दुमा पुगेको छ । आज बैंकिङ ४१.९८, होटल ८१.३४, विकास बैंक ५१.२७, जलविद्युत् ६९.४९, फाइनान्स ४.७२, बीमा ३८३.९२ उत्पादन समूह ६०.९५, अन्य २१.९४ र माइक्रोफाइनान्स ७५.५२ बिन्दुले ओरालो लागेको छ ।

नेपाल इन्भेष्टर्स फोरमका उपाध्यक्ष छोटेलाल रौनियारले सरकारको तर्फबाट बजारको बारेमा सकारात्मक पहल आवश्यक भएको बताउनुभयो । धितोपत्र बजारमा आएको कमीका बारेमा जानकारी दिँदै उनले शेयर बजारका लगानीकर्ता ठूलो मारमा परेको भन्दै सरकारको तर्फबाट सकारात्मक पहल जरुरी रहेको बताए ।

जिम्मेवार निकायमा रहेका व्यक्तिले जिम्मेवार भएर प्रस्तुत हुनुपर्ने भन्दै उहाँले अनावश्यक हल्ला र बजार प्रभावित पार्ने काम कोही कसैले पनि गर्न नहुने स्पष्ट पारे । रौनियारले अनलाइन कारोबार, वाणिज्य बैंकहरुलाई ब्रोकर लाइसेन्स दिएर ७७ वटै जिल्लाबाट कारोबार गर्न पाउने व्यवस्था गरिए कारोबार बढ्ने र लगानीकर्तामा समेत विश्वास पैदा हुने सुझाव दिए ।

इन्भेष्टर्स फोरमका अर्का सदस्य केशव भण्डारीले लगानीकर्ता नराम्ररी प्रभावित भएको बताए । सरकारले लगानीकर्ताको भावना सम्बोधन गर्नुपर्ने उल्लेख गर्दै उनले विद्यार्थी, गृहिणी, सरकारी तथा निजी क्षेत्रमा कार्यरत कर्मचारीले गरेको सानो सानो लगानीको पनि सुरक्षा जरुरी रहेको बताए ।

बजारमा करीव १५ लाख लगानीकर्ता रहेको इन्भेष्टर्स फोरमले दाबी गरेको छ । बजार परिपक्व नभएका कारण सानोतिनो हल्ला र प्रभावले बजार प्रभावित हुने भएकाले त्यसतर्फ ध्यान दिन लगानीकर्ताले आग्रह गरेका छन् । बजारमा बैंक तथा वित्तीय क्षेत्रको चाप परेको छ, ब्याजदरमा परिवर्तन भएको, हकप्रद, बोनस शेयरको समेत चाप परेका कारण बजार प्रभावित भएको छ ।

बजार निरन्तर ओरालो लाग्दा साना लगानीकर्ता मारमा परेको उनीहरुको टिप्पणी छ । आज प्रोग्रेसिभ फाइनान्स लिमिटेडका लगानीकर्ताले मुनाफा गरेका छन् भने राष्ट्रिय बीमा कम्पनी र एनएलजी इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले बढी गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement