सेयर बजारमा नयाँ रेकर्ड, नेप्से परिसूचक ३००० नजिक


काठमाण्डु – साताको तेस्रो दिन मंगलबार सेयर बजार मापक नेप्सेले नयाँ रेकर्ड कायम गरेको छ । आज नेप्से परिसूचक ५३ दशमलव ४४ अंकले बढेर २ हजार ९ सय ६० दशमलव १४ अंकमा पुगेको छ । यो हालसम्मकै उच्च विन्दु हो ।

यस दिन २१८ कम्पनीको १ लाख ४९ हजार ७०८ पटकको कारोबारमा १६ अर्ब ८५ करोड ५१ लाख ९९ हजार रुपैयाँ बराबरको ३ करोड ५७ लाख ३७४ कित्ता शेयर खरिदबिक्री भएको छ ।

त्यसैगरी, क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इण्डेक्स ७.४७ अंक बढेर ५२८.१० विन्दुमा पुगेको छ । मंगलबार फ्लोट इण्डेक्स ३.९४ अंक बढेर २०५.२२ विन्दुमा र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.२८ अंक बढेर १७६.०८ विन्दुमा पुगेको छ ।

नेप्सेमा कारोबार हुने अधिकांश समूहहरु बढ्दा होटल तथा पर्यटन र लघुवित्त समूहका लगानीकर्ताहरुले भने धेरै कमाउन सकेनन् । बजारमा उल्लास देखिँदा पनि यी दुई समूहको सबइन्डेक्स भने घटेको छ ।

लघुवित्त समूह २४ दशमलव २१ अंकले घट्दा होटल १६ दशमलव ४६ अंकले घटेको छ । लगानी समूह पनि ०.८८ प्रतिशतले घटेको छ भने बाँकी सबै समूह बढेको छ ।

यस दिन विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक ९.०४ प्रतिशत बढेको छ भने वित्त उपसमूहको परिसूचक ८.७१ प्रतिशतले बढेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement