सेयर बजारमा हरियाली : तीन दिनमै नेप्से ८० अंकले किन बढ्यो ?


काठमाण्डु – तिहारलगत्तै खुलेको सेयर बजारमा हरियाली छाएको छ । करिव एक सातापछि सोमबार खुलेको सेयर बजार लगातार तीन दिन बजार बढेको हो ।

बजार खुलेकै दिन सोमबार नेप्से १६ अंकले बढेको थियो भने मंगलबार ५६ अंकको बृद्धि भएको थियो । बुधबार बजार सुरुमा उकालो लागेपनि लगानीकर्ताहरुले सुरुमै नाफा बुक गर्न थालेपछि बजार नकरात्मक दिशातिर गएको थियो । तर, बजार बन्द हुने बेला भने नेप्से ७.३२ अंकले वृद्धि भएर १९३८.३० अंकमा बन्द भएको छ ।

पछिल्लो तीन दिनमा नेप्से ७९.८१ अंकले बढेको छ । बजार बढेसंगै कारोबार रकम समेत लगातार बढिरहेको छ । मंगलबार १ अर्ब नाघेको कारोबार रकम बुधबार बढेर करिब डेढ अर्ब पुगेको छ । यसले पनि बजारमा खरिदकर्ताको चाप बढेको विश्लेषण हुन थालेको छ ।

नेप्से उकालो लाग्नुका साथै कारोबार रकममा समेत वृद्धि भएपछि लगानीकर्ताहरु उत्साहित छन् । बजारमा नयां लगानीकर्ताहरुले शेयर उठाउन थालेपछि सेयर बजार बढेको अनुमान छ ।

मंसिर ४ मा हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिक आउंदै गर्दा बजारमा सकरात्मक अवस्था उत्पन्न भएको हो । बजार करिव १ वर्षदेखि निरन्तर ओरालो लागिरहेको थियो । अहिले धेरै बैंक तथा वित्तिय संस्थाहरुले लाभाशं बाडिंरहेका छन् । त्यति मात्र होईन चुनावका कारण बजारमा पैसा आउने धेरेको अनुमान समेत छ । अहिले बजारमा राम्रा भनिएका कम्पनीहरुको शेयर मुल्य समेत घटेको अवस्थामा छ ।

सेयर खरिदकर्ताहरुले नविल बैंक,कृषि विकास बैंक, एसएचपीसी, जीवीवीएल र शीवम् सिनेन्टको सेयर खरिद गरिरहेका छन् ।

बैंक तथा वित्तिय संस्थाहरुले ब्याज बढाएको सुचना बाहिर आउंदा समेत बजार बढ्नुलाई कतिपयले चक्रीय नियमका आधारमा अब विस्तारै वियरिस साइकल पुरा भएर बुलिस सुरु हुन लागेको समेत बताउन थालेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement