पाँचथर पावर कम्पनीले गर्यो स्थानीयलाई सेयर भर्न आग्रह


काठमाडौं– पाँचथर पावर कम्पनीको सेयर भर्न आयोजना प्रभावित स्थानीयको १ करोड रुपैयाँ मूल्य बराबरको सेयर आवेदन परेको छ । कम्पनीले गत पुस ३० गतेदेखि खुला गरेको सेयर भर्न स्थानीयको आवेदन परेको हो । आइतबारसम्म २ सय ५० जना स्थानीयले १ करोड रुपैयाँ मूल्यको १ लाख कित्ता सेयर खरिद गर्न आवेदन दिएको बिक्री प्रबन्धक सानिमा क्यापिटलले जनाएको छ ।

कम्पनीले पाँचथरमा सञ्चालित १४.९ मेगावाटको माथिल्लो हेवा ‘ए’ जलविद्युत आयोजना प्रभावित (फिदीम नगरपालीका, हिलिहाङ र फालेलङु गाउँपालिका) र जिल्लाबासीकालागि ९ लाख ६२ हजार ५ सय कित्ता सेयर बिक्री खुला गरेको छ । स्थानीयले प्रतिकित्ता सय रुपैयाँमा अंकित ९ करोड ६२ लाख ५० हजार रुपैयाँ मूल्यको सेयर न्युनतम १० देखि अधिकतम ९ हजार ६ सय २० कित्तासम्मका लागि आवेदन दिन पाउनेछन् ।

आयोजनामा लगानी गर्न इन्छुक स्थानीयले कृषि विकास बैंक, सेञ्चुरी बैंक, गुडविल फाइनान्स र कमपनीको फिदिमस्थित कार्यालयबाट आवेदन दिइरहेका छन् । स्थानीयको सेयर बाँडफाँडपछि सर्वसाधारणका लागि छुट्टयाएको सेयर निष्कासन गर्ने कम्पनीको तयारी छ । कम्पनीले निर्माण पूरा गरेको आयोजनाले २ वर्षदेखि विद्युत उत्पादन गर्दै आएको छ ।

विद्युत जोडिने काबेली कोरिडोर प्रसारण लाइन पूरा नहुँदा आयोजना पूर्ण क्षमतामा सञ्चालन हुन सकेको छैन् । अहिले ३३ केभी लाइनमा आंशिक विद्युत जोडिएको छ । विद्युत उत्पादन सुरु भएको २ वर्षमा प्रसारण लाइनकै कारण करिब ४० करोड रुपैयाँ नोक्सान भएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement