मंगलबार शेयर बजारमा सुधार, लगानीकर्ता उत्साहित


काठमाडौं- मंगलबार शेयर बजारमा ५.८६ अंकले सुधार भएको छ । ६ दिनदेखि लगातार दोहोरो अंकले ओरालो लागेको शेयर बजारमा मंगलबार केही सुधार भएको हो ।

नयाँ सरकार गठन भएलगत्तै आउने नीति तथा कार्यक्रमले शेयर बजारमा उतार चढाव आएको थियो । ६ दिनदेखि ओरालो लागेको शेयर बजारमा देखिएको सुधारले लगानीकर्ता केही उत्साहित देखिएका छन् ।

मंगलबार शेयर बजार खुलेर १६ अंकमाथि चढेर १३७७ विन्दुमा पुगेको थियो । बजार खुलेको १ घण्टा ४५ मिनेटपछि उतार चढावका विचमा सेयर बजार परिसुचक नेप्से १३६४ दशमलव ८१ बिन्दुमा बन्द भयो ।

मंगलबार सेयर बजारमा १५३ कम्पनीको ११ लाख ५१ हजार कित्ता सेयर ५५ करोड ६८ लाख रुपैयाँमा खरिदविक्री भएको छ । बजारमा सबैभन्दा बढी कारोबार हुने बाणिज्य बैंकको उपसमूह ५.८६ अंकले बढेको छ ।

सोमबार ७० प्रतिशत लाभांश घोषणा गरेको नेपाल लाइफको ६ करोड ७१ लाख रुपैयाँ तथा प्रभु बैंकको दुई लाख ७१ हजार कित्ता सेयर विक्रीबाट ६ करोड १८ लाख रुपैयाँको कारोबार भएको छ ।

नेपाल लाइफ र प्राइम लाईफ इन्स्योरेन्सको संस्थापक सेयर पाँच करोड बढीको खरिदविक्री भएका छन् । लगानीकर्ताको सम्पत्ति मापन गर्ने समग्र बजार पूँजीकरण मंगलबार १५ खर्ब ९६ अर्ब रुपैयाँमा समेटिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement