निर्वाचनअघिको गठबन्धन गलत भएकाले कांग्रेस एक्लै निर्वाचनमा छ : महामन्त्री शर्मा


इलाम – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले निर्वाचनअघिको गठबन्धन गलत हुने भएकाले एक्लै निर्वाचनमा होमिएको बताएका छन् ।

शनिबार इलाममा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै शर्माले निर्वाचन अघिको गठबन्धन गलत हुने अनुभव गरेर कांग्रेस अहिले एक्लै निर्वाचनमा भाग लिइरहेको बताए ।

इलामले अब परिवर्तन खोजेको उनले बताए । उनले भने, ‘इलामले अब परिवर्तन खोजेको छ । विकासका बाँकी काम गर्न इलामले काँध फेर्न खोजेको छ । अब सुवास नेम्वाङज्यूको युगबाट नयाँ युगमा जाँदै गर्दा एउटा बलियो काँध लिएर हिजो सुवास नेम्वाङसँग केवल ११४ मात्रै मतले उपविजेता भएको उम्मेदवार अब २ हजार बढी मतले जितेर उहाँका कामलाई पूरा गर्ने संकल्प गर्नुहुनेछ । हामी राम्रोसँग चुनाव लडौं ।’

निर्वाचन प्रचारका क्रममा एकअर्कालाई गाली नगर्न उनले आह्वान गरे । उनले भने, ‘एउटाले अर्कोलाई गाली नगरी चुनाव लडौं । स्वस्थ ढंगले आलोचना मात्रै गरिराखेर लडौं । नेपाली कांग्रेस पार्टी एक्लै चुनावमा रुख चिह्न लिएर खडा छ । यो एक्लै खडा भएको बेलामा त्यो दिन बिर्सिन मिल्दैन । हाम्रो अनुभवले के भन्यो भन्दा चुनावअघिको गठबन्धन गलत हुँदो रहेछ ।’

इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा नेपाली कांग्रेसबाट उम्मेदवारी दिएका डम्बर खड्काले पहिचानको मुद्दामा नेपाली कांग्रेसले पूर्ण रूपमा सहयोग प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement