गृहमन्त्रीविरुद्ध बोलेका डा. शेखरलाई स्पष्टीकरण सोध्न डा. शशांकको प्रस्ताव

गृहमन्त्रीविरुद्ध बोलेका डा. शेखरलाई स्पष्टीकरण सोध्न डा. शशांकको प्रस्ताव

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका नेता एवम पूर्वमहामन्त्री डा. शशांक कोइरालाले गृहमन्त्री रमेश लेखकमाथि लागेको आरोप गलत भएको बताउँदै झूटा अभिव्यक्ति दिने नेता डा. शेखर कोइराला सहितलाई स्पष्टीकरण सोध्न प्रस्ताव गरेका छन् ।

सोमबार पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा आयोजित पदाधिकारी एवं पूर्वपदाधिकारी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै डा. कोइरालाले लेखकको बचाउ गरेका हुन् ।

गृहमन्त्री लेखकले बैठकमा भिजिट भिसा प्रकरणबारे स्पष्ट कुरा राखेकाले उनीमाथि आरोप मात्र लागेको डा. कोइरालाको भनाइ थियो । बैठकमा गृहमन्त्रीले राजीनामा दिनुपर्छ भन्ने पार्टीभित्रकै नेताहरूलाई कारवाही गर्नुपर्छ भन्ने अभिव्यक्तिप्रति आपत्ति प्रकट गरिएको पनि उनले बताए ।

बैठकमा डा. शेखर कोइराला, डा. सुनिल शर्मा र राजेन्द्र बजगाईंले गृहमन्त्रीले राजीनामा दिनुपर्छ भनेर अभिव्यक्ति दिएकाले कारवाहीको कुरा उठेको पनि डा. शशांकले बताए ।

‘हामीले सभापतिलाई उनीहरूलाई बोलाउनुस् र के भएको हो सोध्नुस् भनेका छौं । सभापतिजीले पनि स्पष्टीकरण लिनेबारे हुन्छ वा हुन्न भन्नुभएको छैन, हेर्छु मात्रै भन्नुभएको छ,’ उनले भने । ३ जना नेतालाई स्पष्टीकरण सोध्नैपर्ने डा. शशांकको भनाइ थियो ।