बीपीले शेरबहादुरलाई पश्चिमको ‘राजकुमार भन्नुहुन्थ्यो, उहाँ नै हाम्रो नेता होः शशांक

बीपीले शेरबहादुरलाई पश्चिमको ‘राजकुमार भन्नुहुन्थ्यो, उहाँ नै हाम्रो नेता होः शशांक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले निवर्तमान सभापति शेरबहादुर देउवा नै आफूहरुको नेता भएको बताएका छन् ।

आफ्नो संयोजनमा शुक्रबारबाट राजधानीमा सुरु संस्थापन इतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै कोइरालाले काँग्रेस एकताबद्ध गर्न भेला बोलाइएको बताए । काँग्रेस एकताबद्ध भएर अघि बढ्दा कसैले पनि पराजित गर्न नसक्ने उनको भनाइ थियो ।
कोइरालाले आफ्ना दिवंगत पिता बीपी कोइरालाले देउवाबारे गरेको टिप्पणी पनि भेलामा सहभागी नेता कार्यकर्तालाई सुनाए ।

आफूहरु भारतको बनारसमा प्रवासी जीवन बिताइरहेका बेला देउवा त्यहाँ पुगेको उनले सम्झिए ।

बीपीले देउवालाई पश्चिमको राजकुमारको संज्ञा दिएको उनको भनाइ छ ।

उनले आफूहरूको सभापति र नेता देउवा नै भएको बताए । देउवाकै नेतृत्वमा काँग्रेस अगाडि बढ्ने कोइरालाले घोषणा गरे । उनले देउवा हङकङबाट आउने बित्तिकै भेला सफल भएको दाबी पनि गरे ।

‘शेरबहादुरजी पश्चिमको राजकुमार भनेर बिपी कोइराला भन्नुहुन्थ्यो । शेरबहादुरजी पहिलोपटक बनारस आउँदा बिपीले शेरबहादुरलाई घुमाइदे शशांक भन्नुभएको थियो । के गर्ने भनेर मैले ३ वटा सिनेमा एकैदिनमा हेर्न लगेको थिएँ,’ उनले भने, ‘बिपीले सिनेमा नहेर्न भन्नुहुन्थ्यो । तर, पनि सिनेमा हेरियो भनेर मैले बिपीलाई भनेपछि उहाँले कसले निर्देशन गरेको चलचित्र हो, यसको सन्देश के होजस्ता प्रश्न गर्दा शेरबहादुरजीले हुबहु भनिदिनुभएको थियो ।’


कोइरालाले ०४६ सालको राजनीतिक परिवर्तनपछि गिरिजाप्रसाद कोइरालाको निर्देशनमा आफूले नै देउवालाई नेपाल बोलाएको स्मरण गरे ।

‘गिरिजाबाबुले भन्नुभयो शेरबहादुरलाई बोलाऊ भनेर। उहाँ त्यसबेला लन्डनमा हुनुहुन्थ्यो । यहाँ परिवर्तन भयो फर्किनुस् शेरबहादुरजी भनेर मैले भनें’, कोइरालाले भने, ‘उहाँ आउनुभयो पनि । नेपाल आउनेबित्तिकै प्रधानमन्त्री बन्नुभयो । शेरबहादुरको भाग्य यति राम्रो छ, आउनेबित्तिकै प्रधानमन्त्री बन्नुभयो ।’