शिक्षामन्त्री पोखरेल र स्विटजरल्याण्डका राजदूत ड्यानिएलबीच भेटवार्ता

शिक्षामन्त्री पोखरेल र स्विटजरल्याण्डका राजदूत ड्यानिएलबीच भेटवार्ता


काठमाण्डु– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि स्विटजरल्याण्डका महामहिम राजदूत ड्यानिएल मेउलीले शिष्टाचार भेटवार्ता गरेका छन् ।

सिंहदरबारस्थित मन्त्रालयमा सोमबार भएको भेटमा उनीहरुबीच आपसी हित, द्विपक्षीय सम्बन्ध, विकास सहायता परिचालन र स्विस सरकारले नेपालको शिक्षा क्षेत्रमा गर्दै आएको सहयोग तथा शिक्षा क्षेत्रमा फराकिलो साझेदारिता अभिवृद्धिलगायत विषयमा छलफल भएको छ ।

स्विटजरल्याण्ड नेपालको प्राविधिक तथा व्यावसायिक शिक्षामा लामो समयदेखि सहयोग गर्दै आइएको विकास साझेदार हो । विशेषगरी प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) को क्षेत्रमा सहयोग गर्दै आएको छ ।

नेपालमा स्विस सरकारको सपोट एजेन्सी ‘स्विस एजेन्सी फर डेभलपमेन्ट एन्ड को अपरेसन’ (एसडिसी) को सहयोगमा सिटिइभिटीमार्फत तीन परियोजना ‘नेस्नल भोकेस्नल क्वालिफिकेस सिस्टम’, इन्ह्यान्सड स्किल फर सस्टेनेवल एन्ड रिवार्डिङ इम्प्लोइमेन्ट’ र क्वालिटी टेक्निकल एन्ड भोकेस्नल एजुकेसन एन्ड टे«निङ फर युथ’ सञ्चालनमा रहेका छन् ।

भेटमा शिक्षामन्त्री पोखरेलले नेपाल र स्विटजरल्याण्डबीच नेपालको विकास तथा शिक्षा क्षेत्रमा स्विटजरल्याण्ड सरकारले गर्दै आएको सहयोगका लागि धन्यवाद दिए ।

उनले सिटिइभिटीसम्बन्धी ऐनको मस्यौदाको प्रक्रियामा रहेको र प्राविधिक शिक्षालाई समय सान्दर्भिक बनाउन विज्ञ समूहबाट राय परामर्श लिइरहेको यसलाई छिट्टै संसद्मा पेस गर्ने तयारी रहेको जानकारी गराए ।

मन्त्री पोखरेलले नेपालको प्राविधिक तथा व्यावसायिक शिक्षाको क्षेत्रमा स्विस सरकारले उपलब्ध गराउँदै आएको सहयोगको निरन्तरताको अपेक्षा गरे ।

उक्त भेटमा राजदूत मेउलीले नेपालको शिक्षा क्षेत्रमा स्विटजरल्याण्ड सरकारले गर्दै आएको सहयोगलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे । उनले नेपाल सरकारले लिएको अवधारणालाई जहिले पनि सहयोग तथा सहकार्य गर्न स्विस सरकार तयार रहेको बताए । राजदूत मेउलीले हाल शिक्षा क्षेत्रमा सञ्चालनमा रहेका तीन वटा परियोजनालाई एउटै बनाएर थप प्रभावकारी बनाउने गरी अघि बढ्ने शिक्षामन्त्रीसमक्ष जानकारी गराए ।