काठमाण्डु– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नागरिकका तमाम सरोकारका विषयलाई सरकारले क्रमशः सम्बोधन गर्दै जाने विश्वास व्यक्त गरेका छन् । काठमाण्डु निर्वाचन क्षेत्र नं ५ मा आज आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा उनले स्थानीय जनताले उठाएको सडक, ढल, बिजुली, खानेपानीलगायत समस्या समाधानका लागि आफूले अधिकतम पहल गर्ने प्रतिबद्धता जनाए ।
सोही निर्वाचन क्षेत्रबाट निर्वाचित सांसद एवं मन्त्री पोखरेलले निर्वाचनका दौरानमा महिनामा एउटा सार्वजनिक सुनुवाइ कार्यक्रम गर्ने घोषणा गरिएअनुरूप आज काठमाण्डु महानगरपालिका–४ स्थित विशाल मिलन केन्द्रमा पहिलो सार्वजनिक सुनुवाइ कार्यक्रम गरेका हुन् ।
सरकारका प्रवक्तासमेत रहेका मन्त्री पोखरेलले नागरिकका कुरा सुनेर मात्र अघिबढ्ने सरकारको नीति रहेको स्पष्ट पारे । उनले शिक्षा मन्त्रालयका साथै सरकारको प्राथमिकता र हालसम्म भएका कार्यसम्पादनबारे स्थानीयलाई जानकारी गराए ।
मन्त्रालयको कार्यप्रगति विवरण सुनाउँदै मन्त्री पोखरेलले देशभरका सबै सामुदायिक विद्यालयको भौतिक पूर्वाधारको मूल्याङ्कन गरेर अर्को वर्षदेखि प्राथमिकताको आधारमा बजेट विनियोजनलगायत अन्य स्रोतसाधनको सुनिश्चितता गरिने विश्वास व्यक्त गरे ।
यसअघि सबै विद्यालयलाई समाज बजेट पठाउँदा समस्या उत्पन्न भएको भन्दै उनले अर्को वर्षदेखि कुन सामुदायिक विद्यालयलाई कति बजेट चाहिन्छ सोहीअनुरूप बजेट पठाइने उल्लेख गरे ।
मन्त्री पोखरेलले विश्वविद्यालयका उपकुलपति छनोट प्रक्रियालाई पारदर्शी र व्यावसायिक बनाउन विज्ञ समितिले दक्षता र विशिष्टताका आधारमा छनोट गर्ने जानकारी दिए । स्थानीयले उठाएका सरोकार भएका विषयको गुनासो सुन्दै तिनको समाधानका लागि प्रयत्न गर्ने प्रतिबद्धता उनले जनाए ।




प्रतिक्रिया