लोकतन्त्रको रक्षार्थ कम्युनिष्टहरुलाई पराजित गर्नु अपरिहार्य : प्रधानमन्त्री


ताप्लेजुङ– प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिष्ट शासन आएमा डर र त्रासको मात्र शासन हुने बताएका छन्।

 

कांग्रेस ताप्लेजुङले आयोजना गरेको चुनावि सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले कम्युनिष्ट नेताहरुले भने जस्तो शासन हालसम्मका आन्दोलन र क्रान्तिहरुका माध्यमबाट प्राप्त सबै नागरिक हक अधिकार समेत गुम्ने बताए।

 

नेपालमा माओवादी केन्द्र र एमालेबीच वाम गठबन्धन गरी कम्युनिष्ट शासन ल्याउन खोजेको भन्दै उनले त्यस्तो शासनमा बहुदल लेख्ने नपाइने, अन्याय भयो भन्न नपाईने भएकाले जनताको शासनको अन्त्य हुने दावी समेत गरे।

 

 

सबैले भने जस्तो र लोकतन्त्रको रक्षा गर्ने पार्टी कांग्रेस मात्र रहेको बताउँदै देउवाले कांग्रेस विजय भए मात्र लोकतन्त्रको रक्षा हुने उद्धघोष गरेका छन्।

 

कम्युनिष्ट पार्टीप्रति आक्रमक रुपमा प्रस्तुत भएका देउवाले लोकतन्त्रमा मात्र जनता मालिक हुने बताउँदै बोल्न लेख्न पाउने र डरत्रासको शासन विनाको शासन मात्र कांग्रेसको लक्ष भएको बताए।

 

 

अधिकांश समय वाम एकताको बिरोधमा खर्चिका देउवाले मंसिर १० र २१ गते हुने प्रतिनिधि र प्रदेश सभाको निर्वाचनमा लोकतन्त्रको रक्षार्थ कम्युनिष्टहरुलाई पराजित गर्नुपर्ने समेत बताए।

 

 

प्रधानमन्त्री देउवाले कांग्रेसको नेतृत्वमा संविधानसभाबाट जारी भएको वर्तमान संविधान कार्यान्वयनको जिम्मा लोकतन्त्रप्रति प्रतिबद्ध राजनीतिक दलले मात्र गर्न सक्ने र कम्युनिष्टहरुले संविधानको प्रस्तावनादेखि भावना प्रतिकूलका अभिव्यक्ति दिएकोले उनीहरुको बल पुगेमा जनताका अधिकार सुरक्षित भएको संविधानमाथि पहिलो प्रहार हुने पनि बताए।

 

 

उनले लोकतन्त्रमा मात्र नागरिकका अधिकारहरु सुरक्षित हुने उल्लेख गर्दै कम्युनिष्ट शासनमा सबै अधिकार गुम्ने र त्रासको वातावरण कायम हुने चर्चा गर्दै लोकतन्त्रमा मात्र भयमुक्त वातावरण रहिरहने पनि बताए।

 

प्रतिक्रिया दिनुहोस
Advertisement