वर्तमान सरकार जति दिन रह्यो, त्यति मुलुक बर्बादीतर्फ जान्छ : डा. शेखर कोइराला


कपिलवस्तु – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वर्तमान सरकार तत्काल नसच्चिए छाड्नुपर्ने बताएका छन् ।

कपिलवस्तुको तौलिहवामा आयोजित नेपाली कांग्रेस कपिलवस्तुको प्रथम जिल्ला सम्मेलनमा कोइरालाले वर्तमान सरकार जति दिन रह्यो, त्यति मुलुक बर्बादीतर्फ जाने बताए ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारसामु अब २ वटा विकल्प मात्रै रहेको उनले बताए । ‘अब अति भयो, जति दिन यो सरकार राख्यो त्यति देशको राष्ट्रियता, सार्वभौमिकता, राजनीतिक र अवस्था कमजोर हुँदै जान्छ । नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठन अपरिहार्य भइसक्यो,’ उनले भने ।

कोइरालाले सरकारको हेपाहा र बलमिच्याइँले चर्को महंगीका कारण जनताको चुलो नबल्ने अवस्थामा पुगेको बताए । जनतालाई सहुलियत दिनुपर्नेमा चाडपर्वको मुखमा दैनिक उपभोग्य वस्तुहरूको भाउ बढ्नु राम्रो संकेत नभएको उनले बताए ।

सम्मेलनलाई सम्बोधन गर्दै कोइरालाले सभापति शेरबहादुर देउवाले विधानसम्मत पार्टी सञ्चालन नगरेकाले कांग्रेस पार्टी अप्ठ्यारो अवस्थामा परेको बताए ।

सभापति देउवासँग व्यक्तिगत रूपमा आफ्नो कुनै रिस नभएको भन्दै पार्टी विधि र विधान अनुसार चल्नुपर्छ भन्ने कुरामा आफूले कसैसँग सम्झौता नगर्ने कोइरालाले बताए । ‘पार्टीभित्र दूरदरारका इमान्दार, निष्ठावान् र सक्रिय साथीहरूको मूल्यांकन हुन सकेको छैन, त्यसैले कांग्रेसको जग नै कमजोर हुन थालेको छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस
Advertisement