पार्टी एकता र सहकार्यका लागि शेखरको आह्वान

पार्टी एकता र सहकार्यका लागि शेखरको आह्वान

हामी विभाजित, विघटनकारी र समुद्रमा गन्तव्य हराएको माझीझैं भएका छौँ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी एकता र सहकार्यका लागि आह्वान गरेका छन् ।

कोइरालाले बिहीबार एक विज्ञप्ति जारी गर्दै कांग्रेस विभाजनले राष्ट्रियता र लोकतान्त्रिक आन्दोलनमा समेत आघात पुग्ने बताएका हुन्।

उनले कांग्रेसभित्रको वर्तमान अवस्थालाई ‘समुद्रमा गन्तव्य हराएको माझी’ जस्तो भएको टिप्पणी गरेका छन्। ‘आज हामी न अजेय छौँ, न विजय नै छौँ। हामी विभाजित, विघटनकारी र समुद्रमा गन्तव्य हराएको माझीझैं भएका छौँ,’ उनले भनेका छन्।

उनले भनेका छन्, ‘दुःखका साथ भन्नुपर्छ यतिखेर नेपाली कांग्रेसको पटकथा कहाँबाट कसले कसरी लेखिरहेका छन मलाई थाहा छैन । मलाई यसबाट पिडा छ र मेरो पिडासँग तमाम कार्यकर्ता साथीहरुको भावना जोडिएको छ, जो कांग्रेस एकढिक्का भएर राष्ट्र निर्माणमा यो पार्टीको नेतृत्वदायी भूूमिका होस भन्ने चाहन्छन् ।’

कोइरालाले प्राकृतिक विपत्तिमा परेका नागरिकको पीडाप्रति कांग्रेस संवेदनशील हुन नसकेको भन्दै प्रश्न उठाएका छन्। रसुवा, नुवाकोट र धादिङलगायत क्षेत्रमा भएको विपत्तिबाट प्रभावित तथा परिवारका सदस्य गुमाएका नागरिकको पीडा बुझ्नुपर्ने उनको भनाइ छ।

‘नेपाली जनता रोइरहेका छन्, सर्वसाधारणहरू चाडपर्वको मुखमा परिवारका सदस्य र आफन्त गुमाएर चेतना शून्य भएर बसेका छन् । उनीहरूको दर्द र पीडा किन हामी बुझ्न सकिरहेका छैनौँ ?’ उनले प्रश्न गरेका छन् ।

पार्टीभित्रको विवादमा कानुनी र विधानका धारालाई मात्र आधार बनाएर मानवीय संवेदनासँग खेलवाड गर्न नहुने कोइरालाको भनाइ छ। उनले सहमति, सहकार्य र एकताबाट अघि बढेर नागरिकको चहराइरहेको घाउमा मल्हम बन्न कांग्रेस सक्षम हुनुपर्ने बताएका छन् ।

कोइरालाले दुईवटा महाधिवेशनको अवस्थाले आफूलाई पीडा दिएको उल्लेख गर्दै मध्यमार्गी र विवेकपूर्ण समझदारी खोज्नुपर्नेमा जोड दिएका छन् ।

‘मेरो पीडा कांग्रेसको आसन्न घोषित दुई महाधिवेशनबाट यो देशको राष्ट्रियता र लोकतान्त्रिक आन्दोलनमा पर्ने आघात हो। यो रोकौं, एउटा मध्यमार्गी र विवेकपूर्ण समझदारीको बाटो खोजौं,’ उनले भनेका छन् ।

उनले आफू कसैको पक्षमा आरोप–प्रत्यारोप गर्न नचाहेको पनि स्पष्ट पारेका छन्। कांग्रेसभित्र एक पक्षको जित र अर्को पक्षको हारलाई कांग्रेसको विजयका रूपमा उत्सव मनाउन नसकिने उनको भनाइ छ ।

‘कांग्रेसमा कोही हार्ने र कोही जित्ने अनि विजयी कांग्रेस भयो भनेर कसरी उत्सव मनाउन सकिन्छ होला ?’ कोइरालाले प्रश्न गरेका छन् ।

बीपी कोइरालालगायत पार्टीका संस्थापक नेताहरूको राजनीतिक, नैतिक र सामाजिक आदर्श स्मरण गर्दै उनले कांग्रेस आफ्नो विरासत र संस्कारबाट विचलित हुन नहुने बताएका छन् ।

उनले कांग्रेस एकता र राष्ट्र निर्माणलाई अलग विषयका रूपमा बुझ्न नसकिने उल्लेख गर्दै गाउँटोलदेखि केन्द्र र विदेशमा रहेका कांग्रेस कार्यकर्तालाई पार्टी एकताका लागि जुट्न आग्रह गरेका छन् ।