ओलीको राष्ट्रवाद कालापानीमा लम्पसार पर्‍यो: सभापति देउवा


पोखरा – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकारले संवैधानिक परिषद्लाई कठपुतली बनाएर सबै ठाउँमा आफ्ना मान्छे भर्ती गरेको आरोप लगाएका छन् ।

शुक्रबार पोखरामा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले भने, ‘संवैधानिक परिषद् कठपुतली बनाएर सबै ठाउँमा आफ्ना मान्छे नियुक्त गरेको छ । अख्तियारलाई शाही आयोग बनाउन खोजेको छ ।’

उनले न्यायालयमा पनि राजनीतिक आस्था बोकेका मान्छे नियुक्त गरेको भन्दै आपत्ति प्रकट गरे । उनले स्वतन्त्र न्यायालय नभएसम्म सरकारलाई गलत काम गर्न थप खबरदारी गर्ने ठाउँ नहुने बताए ।

बार एशोसिएसनमा कांग्रेस आफ्नै कारणले हारेकोले सरकारलाई खबरदारी गर्ने ठाउँबाट चुकेको उनको तर्क थियो। बारको चुनाव हारेकै कारण न्याय परिषदमा प्रतिनिधित्व हुन नसकेको उनको भनाई छ ।

सरकार गलतबाटोमा गएको भन्दै कांग्रेसले सरकारविरुद्ध सडक र संसदबाट संघर्षको कार्यक्रमहरू ल्याउने देउवाको भनाई छ ।

‘सरकार र प्रधानमन्त्री ओलीको राष्ट्रवाद कालापानीमा लम्पसार परेको छ’, उनले भने, ‘अब यो सरकारविरुद्ध संसद र सडकबाट कांग्रेसले संघर्ष गर्छ ।’

प्रतिक्रिया दिनुहोस
Advertisement