पाँच दलीय गठबन्धन राष्ट्रियसभाको चुनावसम्म मात्रै होः प्रधानमन्त्री देउवा


काठमाण्डु – प्रधानमन्त्री शेरबहादुर देउवाले पाँच दलीय गठबन्धन राष्ट्रियसभाको निर्वाचनसम्म मात्रै रहने बताएका छन् ।

सोमबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सञ्चारकर्मीहरुसँग कुरागर्दै प्रधानमन्त्री देउवाले राष्ट्रियसभाको चुनावसम्म गठबन्धन रहने बताएका हुन् । उनले उक्त निर्वाचनपछि गठबन्धन रहने कि नरहने भन्ने विषयमा कुनै छलफल नभएको बताए ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आगामी आमनिर्वाचनसम्मै गठबन्धन कायम रहने बताइरहँदा नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् ।

‘अहिलेको गठबन्धन राष्ट्रियसभाको चुनावसम्म मात्रै हो । त्योभन्दा पछिसम्म लाने वा नलाने भनेर छलफल भएर कुनै सहमति भएको छैन’, उनले भने ।

साथै प्रधानमन्त्री देउवाले आफू अन्तिमपटक सभापति बन्न चाहेको बताए । उनले आफू मुलुकको व्यवस्थाको रक्षाका लागि गठबन्धनको नेतृत्व गर्दै प्रधानमन्त्री भएको बताउँदै फेरि सभापति भए अझै राम्रो गर्न सक्ने बताए ।

‘म पार्टीको विधानबमोजिम एक पटक सभापति बन्न चाहेको छु । यो अन्तिम पटक हो । म प्रधानमन्त्री पनि छु। यो मुलुकको व्यवस्थाको रक्षाका लागि गठबन्धनको नेतृत्व गर्दै प्रधानमन्री भएको हुँ। मैले फेरि सभापति भए भने अझै राम्रो गर्न सक्छु। त्यसैले मैले पार्टीका साथीहरूलाई पनि आग्रह गरेको छु। तपाईंहरूमार्फत सबैलाई आग्रह गर्न चाहन्छु। एकपटक मलाई सहयोग गरिदिनुस्,’उनले भने ।

प्रधानमन्त्री देउवाले कांग्रेस आफ्नो महाधिवेशनमा शक्ति प्रदर्शन गर्ने पक्षमा नरहेको बताए । उनले कोरोना भाइरसको नयाँ भेरियन्ट आएको बताउँदै महामारी रोक्न आफूहरुले सक्दो पहल गर्ने बताए ।

‘एमालेसँग प्रतिस्पर्धा गर्ने कुरा होइनन । अहिले कोरोनको नयाँ भेरिएन्ट आइसकेको छ । त्यसैले कांग्रेसले त्यो जोखिम मोल्दैन। कांग्रेस उदार पार्टी हो, कसैलाई दुःख दिन चाहँदैन । हामी पनि झापादेखि मान्छे ल्याएर उतार्न सक्छौ । तर त्यसले जनतालाई दुःख हुन्छ । महामारी फैलिन सक्छ। हामी त्यो पक्षमा छैन,’ प्रधानमन्त्री देउवाले भने ।

प्रतिक्रिया दिनुहोस
Advertisement