पोखरामा कांग्रेसले जित्थ्यो, बम पड्काएर षड्यन्त्र गरियो: सभापति देउवा


काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपनिर्वाचनमा धाँधली भएको आरोप लगाएका छन् । भीमबहादुर तामाङको स्मृतिसभामा सानेपामा आयोजित कार्यक्रममा बोल्दै उनले निर्वाचनमा धाँधली भएको बताएका हुन् । देउवाले पोखरामा कांग्रेसले जित्ने ठाउँमा बम पड्काएर षड्यन्त्र गरेको आरोप लगाए ।

प्रहरी प्रशासन निष्पक्ष नरहेको भन्दै उनले भने, ‘पोखरामा कांग्रेसले जित्ने ठाउँमा बम पड्काएर षड्यन्त्र गरियो । प्रहरीको सरूवा गरियो । प्रहरी निष्पक्ष नहुँदाको बाबजुद पनि भक्तपुर धरान र चितवनमा जितेका छौं ।’

उनले उपनिर्वाचनमा कहाँ–कहाँ धाँधली भएको छ भन्‍ने विषयमा अध्ययन गरेर छानबिनका लागि दबाब दिनेसमेत बताए ।

५२ स्थानको मतपरिणामअनुसार नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले ३० स्थानमा जित हात पार्दै पहिलो भएको छ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस १३ स्थानसहित दोस्रो स्थानमा छ भने समाजवादी पार्टी नेपालले ४ स्थानमा विजयी भयो ।

राष्ट्रिय जनता पार्टी नेपालका उम्मेदवार ३ स्थानमा विजयी भएका छन् भने १ स्वतन्त्र उम्मेदवार वडाध्यक्षमा निर्वाचित भए । नेकपाले १ प्रतिनिधिसभा सदस्य, १ प्रदेशसभा सदस्य, ३ गाउँपालिका अध्यक्ष, १ उपाध्यक्ष र २४ वडाध्यक्ष पद जितेको छ । कांग्रेसले भने १ प्रदेशसभा सदस्य, १ उपमहानगरपालिका प्रमुख र ११ वडाध्यक्षमा विजयी भयो ।

समाजवादीका उम्मेदवार ४ र राजपाका उम्मेदवारले ३ वडाध्यक्षको नतिजा आफ्नो पक्षमा पार्न सफल भए । राष्ट्रिय जनमोर्चाका उम्मेदवारले बाग्लुङमा प्रदेशसभा सदस्य जितेका छन् भने १ स्वतन्त्र उम्मेदवारले वडाध्यक्षमा विजय हासिल गरेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement