विद्रोही उम्मेदवार र समर्थकलाई कारबाही गर्छुः सभापति देउवा


काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी्भित्र बसेर चुनाव हराउन भूमिका खेल्नेलाई कारबाही गर्ने चेतावनी दिएका छन् ।

मंसिर १४ मा भएको उपनिर्वाचनबारे समीक्षा गर्न मंसिर २६ गते केन्द्रीय समिति बैठक डाकिएको उल्लेख गर्दै देउवाले अन्तरघात निर्मूल पार्ने बताए ।

कांग्रेस रूपन्देही सिद्धार्थनगर समितिको दोस्रो नगर भेलालाई शनिबार उद्घाटन गर्दै देउवाले भने, ‘पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गर्ने, विद्रोही उम्मेदवार बन्ने र त्यसका प्रस्तावक, समर्थकलाई कारबाही गर्छु ।’

उनले पार्टीभित्र हुने अन्तरघातलाई हटाउन पनि त्यस्ता कार्यकर्तालाई कारबाही गर्नु आवश्यक रहेको बताए । ‘अन्तरघातको खेल डरलाग्दो हो,’ उनले भने, ‘यस्तो प्रवृत्तिले भविष्यमा दुःख दिन्छ । अहिले कारबाही गरेर जानुपर्छ ।’

सो कार्यक्रममा सभापति देउवाले पाँच जना अपांगता भएकाहरूलाई ह्वील चियर र ४४ जना गरिब, जेहेन्दार विद्यार्थीलाई साइकल पनि हस्तान्तरण गरेका थिए।

प्रतिक्रिया दिनुहोस
Advertisement