५ महिना हङकङ बस्दा मोटाएछन् देउवा

५ महिना हङकङ बस्दा मोटाएछन् देउवा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डू– पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा करिब पाँच महिनाको विदेश बसाइपछि बिहीबार स्वदेश फर्किए ।

जेनजी आन्दोलनकारीको सांघातिक आक्रमणमा घाइते भएका देउवा स्वास्थ्य उपचारका लागि १३ फागुनमा सिंहगापुर उडेका थिए । त्यसको करिब तीन सातापछि ७ चैतमा उनी थप उपचार र पारिवारिक कार्यक्रमका लागि सिंगापुरबाट हङकङ पुगे ।

नेपालबाट जाँदाको समयमा भन्दा फर्किंदा देउवा हृष्टपुष्ट देखिए । उनी केही मोटाएका समेत देखियो । विगतको तुलनामा उनमा आत्मविश्वाससमेत देखिएको छ ।

देउवा विदेशमै रहेका बेला सरकारले देउवा दम्पतीमाथि पनि सम्पत्ति शुद्धीकरण अनुसन्धानमा छानबिन अघि बढायो । जिल्ला अदालत काठमाण्डुले देउवा र उनकी पत्नी आरजु राणा देउवाविरुद्ध पक्राउ अनुमति दिएको थियो ।

नेपाल आउने तयारी गरिरहेका बेला पक्राउ पुर्जी जारी भएपछि देउवा उतै रोकिए । नेपाल प्रहरीले इन्टरपोलमार्फत पक्राउ पुर्जी जारी गर्ने प्रयाससमेत गरेको थियो । प्रहरी प्रधान कार्यालयले दुईपटकसम्म पत्राचार गरेको भए पनि इन्टरपोलले राजनीतिक व्यक्तिविरुद्ध नोटिस जारी गर्ने प्रचलन नभएको जवाफ पठायो ।

पछि सर्वोच्च अदालतले देउवा दम्पतीलाई पक्राउ नगर्न अन्तरिम आदेश दिएपछि देउवाको स्वदेश फिर्ती सहज भएको हो । अदालतको आदेशपछि देउवाले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र सत्तारुढ रास्वपा सभापति रवि लामिछानेसँग टेलिफोन संवाद गरेका थिए ।

लामिछाने र बालेनले नेपाल फर्किए पक्राउ नपर्ने ग्यारेण्टी गरेपछि उनी आएका हुन् । सत्तापक्ष र पार्टीकै शुभेच्छुकको सल्लाहअनुसार देउवाले पत्नी आरजु राणा देउवालाई भने हङकङमै छाडेर आएका छन् । काँग्रेस संस्थापन इतर पक्षका नेताहरुले देउवा फर्किएसँगै उनी आन्तरिक राजनीतिक गतिविधिमा सक्रिय हुने बताएका छन् । संस्थापन इतर समूहले गर्न लागेको राष्ट्रिय भेलाको उदघाटन देउवाले गर्ने तय भएको छ ।

देउवाको स्वागतका लागिकांग्रेस नेताहरू पूर्णबहादुर खड्का, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, डा- प्रकाशशरण महत, ज्ञानेन्द्रबहादुर कार्की, मीन विश्वकर्मा, जितजंग बस्नेत, रोज राणा (सरोज थापा) लगायत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।