संसदमा कुरै नबुझी जंगिएपछि जिल्लिए देउवा !


काठमाडौं – प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले मंगलबार संसदमा सम्बोधन गरे । उनले नवनियुक्त सभामुख अग्नि सापकोटालाई बधाई दिँदै आफ्ना केही भनाइहरु राखे ।

प्रधानमन्त्री सम्बोधनका क्रममा ‘धक्का’ शब्दको प्रयोग गरे । प्रधानमन्त्रीले सदनले एमसीसी लगायतका विषयहरु पास गर्नुपर्ने बताएपछि कुरा अन्यन्त्रै मोडे । उनले सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२०लाई जोडेर केही भनाईहरु राखे ।

प्रधानमन्त्रीले भने, ‘भ्रमण वर्षको सुरूमै प्राकृतिक हिसाबले धक्काका संकेतहरू देखा परेको छ। जसलाई हामीले सावधानीपूर्वक सामना गर्नुपर्नेछ। सरकार त्यसको तयारीमा लागेको छ ।’

प्रधानमन्त्रीले प्राकृतिक धक्का के भनेर प्रस्ट रूपमा खुलाएनन् । यसले सिधा बुझ्नेलाई असर गर्यो । त्यसको तारोमा परे प्रतिपक्षी दलका सभापति शेरबहादुर देउवा । उनले प्राकृतिक धक्का भन्ने सुनेन् सायद धक्का मात्र सुने । तर प्रधानमन्त्रीले प्राकृतिक धक्का भन्नुको आसय अन्नपूर्ण वेसक्याम्पमा हिउँ पहिरोमा परेकाहरू हुनुपर्छ । उक्त हिउँ पहिरोमा परेर नेपालीसहित विभिन्न देशका नागरिक पुरिएका छन् ।

त्यसपछि बोल्ने पालो देउवाको आयो । उनले सभामुख सापकोटालाई बधाई तथा शुभकामना दिए । सरकारको बारेमा केही बोले । त्यसपछि देउवा प्रधानमन्त्रीको धक्का शब्द नयाँ लागेको भन्दै जंगिए ।

‘प्रधानमन्त्रीले धक्काको कुरा गर्नुभएको छ, धक्का । के धक्का हो यो ?,’ देउवाले भने, ‘कहाँबाट आयो धक्का भन्ने शब्द, नयाँ सुनें मैले आज । ठूलो धक्का आउँछ रे नेपालमा, कसले दिने भएको छ धक्का हामी पनि थाहा पाउनुप‍र्यो । नेपालमा धक्का दिने को ? छ थाहा पाउनुप‍र्यो हामी सहयोग गर्न तयार छौं । कसले धक्का दिन सक्छ हामी पनि हेरौं । धक्का कसले दिँदैछ प्रधानमन्त्री बोल्नुभएको छैन ।’

प्रधानमन्त्रीले बोलेको कुराको आशय नबुझी देउवा कड्किएको देखेर प्रधानमन्त्रीलगायत सत्तापक्षका सांसद हाँस्न थाले । भने प्रतिपक्षी दलका सांसद आफ्ना सभापतिको गर्जन सुनेर जोसिँदै टेबुल ठोक्न थाले । देउवाले कुरै नबुझी बोलेको भन्दै सामाजिक सञ्जालमा चर्को आलोचना र व्यंग्य भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement