प्रचण्ड–माधव नेपाललाई देउवाको जवाफः गुटको आन्दोलनमा कांग्रेस जाँदैन

प्रचण्ड–माधव नेपाललाई देउवाको जवाफः गुटको आन्दोलनमा कांग्रेस जाँदैन


काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई मिलेर जान प्रस्ताव गरेका छन् । बुधबार सभापति देउवा निवास बुढानिलकण्ठमा भएको भेटमा प्रचण्ड र नेपालले सरकारविरुद्धको आन्दोलन संयुक्त रुपमा गर्न प्रस्ताव गरेका हुन् ।

जवाफमा सभापति देउवाले कांग्रेस एक्लै आन्दोलनमा जाने भएकाले कुनै पनि पार्टीको गुटको आन्दोलनलाई साथ नदिने बताएको कांग्रेस नेता रमेश लेखकले जानकारी दिए । सभापति देउवाले पार्टीको केन्द्रीय कमिटीको बैठक जारी रहेकाले सरकारको संसद विघटनको विषयमा थप स्पष्ट धारणा आउने बताएको नेता लेखकले जानकारी दिए ।

‘संसद विघटनको विषयमा कांग्रेसको धारणा आइसकेको छ । आन्दोलनका विषयमा पार्टीभित्र छलफल गर्नुपर्छ । हामी गुटको आन्दोलनमा सहभागी हुँदैनौं’, प्रचण्ड–नेपाललाई जवाफ दिँदै सभापति देउवाले भने ।

उनले संसद विघटनविरुद्धको मुद्धा सर्वोच्च अदालतमा विचाराधीन रहेकाले बोल्न नमिल्ने बताएका थिए । पूर्वप्रधानमन्त्रीसमेत रहेका सभापति देउवाले अदालतले दिएको आदेश आफ्ना लागि स्वीकार्य भएको बताएका हुन् ।

‘हामीले ओलीको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक भनेका छौं । अदालतले जे निर्णय दियो त्यही मान्ने हो,’ देउवाले भने, ‘यसबारे थप केही कुरा मैले भन्न सक्दिनँ । पार्टीमा सल्लाह गर्नुपर्छ, हाम्रो केन्द्रीय समिति बैठक चलिरहेकै अवस्था पनि छ ।’

त्यस्तै प्रचण्ड–नेपालले संयुक्त आन्दोलनका कार्यक्रममा गरेर आगामी चुनावमा गठबन्धन गर्न पनि देउवासँग प्रस्ताव गरेका थिए । सभापति देउवाले उनीहरुका सबै प्रस्ताव अस्वीकार गरिदिएका छन् ।

सभापति देउवाले संसद विघटनको विषयमा अदालतमा विचाराधीन मुद्धाका विषयमा बोल्न नमिल्ने बताउँदै आएका छन् । उनले अदालतको निर्णयलाई मान्ने भएकाले कसैलाई धम्क्याउने वा तर्साउने काम नगर्ने विभिन्न कार्यक्रमहरुमा बताउँदै आइरहेका छन् । उनले आगामी वैशाख १७ र २७ गते हुने मध्यावधी निर्वाचनको तयारीमा लाग्न पनि पार्टीका कार्यकर्ताहरुलाई निर्देशन दिइसकेका छन् ।

‘हामी अदालतलाई मान्ने पार्टी हौं । अदालतलाई तर्साउने, धम्क्याउने काम हामी गर्दैनौं । अदालतलाई स्वविवेकिय निर्णय गर्ने अधिकार छ । अदालतको निर्णयपछि तयारी अवस्थामा रहनुपर्छ,’ उनले भनेका थिए, ‘अदालतमा विचारिधन मुद्धामा हामी बोल्ने विषय छैन् ।’