चीनको खिलाफमा नेपालको भूमि प्रयोग गर्न दिइने छैन : सभापति देउवा

चीनको खिलाफमा नेपालको भूमि प्रयोग गर्न दिइने छैन : सभापति देउवा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चीनको खिलाफमा नेपालको भूमि प्रयोग गर्न नदिने प्रतिबद्धता जनाएका छन् ।

सोमबार जीपी कोइराला फाउन्डेसनले काठमाण्डुमा आयोजना गरेको नेपाल–चीनबीचको ७० वर्ष लामो सम्बन्ध दर्शाउने फोटो प्रर्दशनीमा बोल्दै उनले एक चीन नीति नेपालले लिएको भन्दै चीनको खिलाफमा नेपालको भूमि प्रयोग गर्न नदिइने प्रतिबद्धता जनाएका हुन् ।

उनले भने, ‘फोटो प्रदर्शनीले चीनसँगको सहकार्यलाई थप मजबुत बनाउँदै २ देशको सम्बन्धलाई थप उचाइमा पुर्‍याउने विश्वास लिएको छु । मैले सधैं भन्ने गरेको छु । एक चीन नीति नेपालले लिएको छ । मित्रराष्ट्र चीनको खिलाफमा नेपालको भूमि प्रयोग हुन दिइने छैन भन्ने विश्वास फेरि पनि दिलाउन चाहन्छु ।’

चीनले नेपालको पूर्वाधार विकास, व्यापार, पर्यटन, सांस्कृतिक, शैक्षिक आदानप्रदान, जलवायु परिवर्तन एवं वातावरणीय सहकार्य लगायतका क्षेत्रमा सहयोग गर्दै आएको भन्दै उनले आगामी दिनमा पनि थप सहयोग गर्ने विश्वास व्यक्त गरे ।

उनले भने, ‘मित्रराष्ट्र चीनले नेपालको पूर्वाधार विकास, व्यापार, पर्यटन, सांस्कृतिक, शैक्षिक आदानप्रदान, जलवायु परिवर्तन एवं वातावरणीय सहकार्य लगायतका क्षेत्रमा सहयोग गर्दै आइरहेको छ । मलाई विश्वास छ, चीनले आगामी दिनमा नेपालको थप विकासमा सहयोग गर्ने नै छ ।’