युक्रेनी आरोहीमाथी शेर्पा गाइडको हत्या गरेको आरोप


काठमाडौं – वैशाख ३१ गते युक्रेनी आरोहण टोलीसहित सगरमाथा आरोहण गरी शिखरबाट फर्कने क्रममा बेपत्ता भएका पर्वतारोहण गाइड लामबाबु शेर्पाको हत्या भएको दाबी उनको परिवारले गरेको छ। अवैध डिजिटल मुद्रा (क्रिप्टोकरेन्सी) को हार्डडिस्क सगरमाथा शिखरमा गाडेर गरिएको प्रचारको रहस्य खुल्ने डरले आरोहण दलका सदस्यबाटै हत्या भएको आशंका उनका परिवारले गरेका छन्। उनको परिवारले सरकारसँग घटना अनुसन्धान गरी सत्यतथ्य सार्वजनिक गर्नसमेत माग गरेका छन्।

डिजिटल मुद्रा प्रचारका क्रममा शिखरको हिउँमा ५ लाख आस्क (एएसके क्वाइन) मुद्रा गाडेको र साहसी व्यक्तिले शिखर आरोहण गरी लिन सक्ने घोषणासमेत ती युक्रेनी आरोहीले भिडियोमार्फत गरेका थिए। आरोहण सहयोगी शेर्पाले सबै जानकारी पाएकाले नै उनको हत्या गरी तिब्बततर्फ फ्याँकेको हुनसक्ने लामबाबुका भतिजा सेर्कु शेर्पाको भनाइ छ। ‘४ युक्रेनी आरोहीलाई शिखर पुर्याेएर फर्कने क्रममा भएको लामबाबुको रहस्यमय मृत्युसम्बन्धमा यथार्थ छानबिन गरी दोषीउपर कारवाही गरिनुपर्छ’, उनले भने, ‘लामबाबुको मृत्युबारे हामीले जे जति जानकारी पायौं, त्यसले हामीलाई सशंकित बनाएको हो।’

बेलायती दैनिक द फाइनान्सियल टाइन्सले फ्रान्सेली समाचार एजेन्सी एएफपीलाई उद्धृत गर्दै युक्रेनी आरोही तारास पोज्नीले शिखरमा लामबाबुलाई देखेको र फर्कंदा उनी पछि रहेको उल्लेख गरेको छ। युक्रेनको एउटा अनलाइनमा भने लामबाबु शिखरमा नपुगेको, चार जना मात्र शिखरमा पुगेको उल्लेख गरिएको छ। तर विभिन्न अनलाइनमा अपलोड गरिएका युक्रेनी आरोहीको भिडियोमा सबैजना देखिएकाले उक्त भिडियो लामबाबुले नै खिचेको हुनसक्ने आशंका परिवारको छ। आजको अन्नपुर्ण पोष्टमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement