पानीजहाज सञ्चालन गर्न नारायणी र गण्डकीमा सम्भाव्यता अध्ययन


नवलपरासी – नेपालका प्रमुख तीन ठूला नदी कोसी, गण्डकी र कर्णालीमा पानीजहाज सञ्चालन गर्ने सम्भावनाअन्तर्गत गण्डकीको नवलपरासीमा सम्भाव्यता अध्ययन गरिएको छ। नेपाल र भारतका उच्चस्तरीय अधिकारी सम्मिलित संयुक्त टोलीले सोमबार नारायणी नदीसहित गण्डक ब्यारेज र गण्डक क्षेत्रअन्तर्गत १२ नं स्परको सम्भाव्यता अध्ययन गरेको हो।

नवलपरासीको गण्डक क्षेत्रसँगै नारायणी नदीमा पानीजहाज सञ्चालनका लागि सम्भाव्यता अध्ययन गरिएको छ। यस क्षेत्रमा पानीजहाज सञ्चालनको सम्भावना उच्च देखिएको नेपाली टोलीका संयोजक एवं जल तथा ऊर्जा आयोग सचिवालयका सहसचिव माधव बेलवासेले बताए।

यहाँबाट भारतको गंगा नदी पुग्न करिब तीन सय किलोमिटर र त्यसपछि गंगा नदीबाट समुद्र सतहसम्म पुग्न करिब ८ सय ४० किलोमिटर गरी यस क्षेत्रबाट कुल १ हजार १४० किलोमिटरको दूरीमा समुद्र सतह पर्छ। टोली फर्किएपछि यस क्षेत्रमा समेत पानीजहाज सञ्चालन गर्ने सम्भावनाको विस्तृत अध्ययन प्रतिवेदन तयार गरिने टोलीमा सहभागी वाणिज्य आपूर्ति मन्त्रालयका उपसचिव तर्कराज भट्टले जानकारी दिए।

नेपालमा पानीजहाज सञ्चालन गर्ने उद्देश्यले जलयातायातअन्तर्गत पहिलो चरणको प्रक्रियामा सुरु भएको टोलीमा सहभागी जल तथा ऊर्जा आयोगको सचिवालयका सिनियर डिभिजन इञ्जिनीयर महेश्वर श्रेष्ठले बताए। पानीजहाजलाई नेपाली भूमिमा कत्रो, कसरी र कुन रूपमा ल्याउन सकिन्छ भनेर अध्ययन गर्ने जिम्मेवारी पाएसँगै नेपाल र भारतको संयुक्त टोलीले ‘फिल्ड’मा अवलोकन गरी फर्किएको हो। रासस

प्रतिक्रिया दिनुहोस
Advertisement