प्रधानमन्त्रीको भारत भ्रमणलाई परिणाममुखी बनाउने तयारी छ : परराष्ट्रमन्त्री

प्रधानमन्त्रीको भारत भ्रमणलाई परिणाममुखी बनाउने तयारी छ : परराष्ट्रमन्त्री

जलवायु न्यायको एजेण्डाले विश्व मञ्चमा नेपालले गम्भीर ध्यानाकर्षण गराउन सफल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – परराष्ट्रमन्त्री शिशिर खनालले भारतबाट प्रधानमन्त्री बालेन शाहलाई औपचारिक निम्तो आइसकेको बताएका छन् । मन्त्री खनालले उपयुक्त समयमा प्रधानमन्त्रीले भारतको भ्रमण गर्ने बताएका छन्।

संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएर बुधबार बिहान स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै मन्त्री खनालले प्रधानमन्त्रीको भारत भ्रमणको तयारी दुबै देशले सुरु गरेको पनि बताए ।

‘नयाँ सरकार बन्नासाथ प्रधानमन्त्रीज्यूलाई भारतबाट निम्तो आएको थियो र त्यसलाई हामीले सकारात्मक रूपमा लिएका थियौं । उपयुक्त समयमा द्विपक्षीय र परिणाममुखी भ्रमण गर्ने हाम्रो तयारी छ’, उनले भने ।

भ्रमणको मितिबारे सोधिएको प्रश्नमा खनालले भने, ‘आजको अवस्थासम्म कहिले हुन्छ भन्ने यकिन छैन। तर भ्रमण सकेसम्म फलदायी र परिणाममुखी होस् भन्नेमा दुवै पक्षको अपेक्षा र चाहना छ।’

खनालले नेपालले राष्ट्रसंघको महासभामा उठाएको जलवायु न्यायको एजेण्डाले विश्व मञ्चमा गम्भीर ध्यानाकर्षण गराउन सफल भएको बताए ।

उनले प्रधानमन्त्री शाहको सम्बोधन र आफूले विभिन्न मञ्चमा राखेका धारणाले नेपालको कूटनीतिक छवि उच्च बनाएको उल्लेख गरे ।

महासभाका क्रममा जलवायु परिवर्तनले नेपालजस्ता पर्वतीय मुलुकमा पारेको असरलाई ‘हिमालयन सुनामी’ का रूपमा चित्रण गर्दै विश्व समुदायको ध्यानाकर्षण गराइएको मन्ी खनालले जानकारी दिए।

विशेष गरी भोटेकोशी बाढीपछिको पुनर्निर्माणका लागि द्विपक्षीय तथा बहुपक्षीय भेटवार्तामा आर्थिक र प्राविधिक सहयोग माग गरिएको थियो। नेपालले अब आपत्कालीन राहतमा मात्र सीमित नभई क्षति न्यूनीकरणका लागि ग्जलवायु वित्त’ र ‘क्षतिपूर्ति कोष’ को प्रभावकारी परिचालनमा जोड दिएको पनि परराष्ट्रमन्त्री खनालले बताए।

बाढीपश्चात् खोज, उद्धार तथा राहतमा सहयोग पुर्‍याउने छिमेकी र अन्तर्राष्ट्रिय समुदायप्रति आभार व्यक्त गर्दै आगामी पुनर्निर्माणका लागि थप सहयोगको आग्रह गरिएको पनि उनले बताए ‘यस भ्रमणले आगामी दिनमा नेपालको कूटनीतिलाई थप प्रभावकारी र सशक्त बनाउँदै राष्ट्रिय हित प्रवर्द्धनमा ठोस योगदान पुर्‍याउने स्पष्ट आधार तय गरेको छ’, परराष्ट्रमन्त्रीले भने ।

प्रधानमन्त्री साहको सम्बोधन यस वर्षको महासभामा सबैभन्दा बढी हेरिएको र चासो लिइएको भाषणमध्ये एक बनेको दाबी पनि उनले गरे।

भ्रमणका क्रममा नेपालले तीन नयाँ देश ग्रेनाडा, नामिबिया र सेनेगलसँग कूटनीतिक सम्बन्ध स्थापना गरेको छ। यससँगै नेपालको कूटनीतिक सम्बन्ध रहेका मुलुकहरूको सङ्ख्या १८८ पुगेको छ। यसका साथै विभिन्न देशसँग कूटनीतिक तथा सेवा राहदानी वाहकका लागि भिसा छुट गर्नेसम्बन्धी समझदारी पत्रमा पनि हस्ताक्षर भएको छ।