काठमाण्डू, ९ जेठ– परराष्ट्रमन्त्री शिशिर खनालको आसन्न भारत भ्रमण स्थगन भयो ।
खनाल १८ जेठमा भारत भ्रमणमा जाँदै थिए । कतिपयले खनालको भ्रमण स्थगन हुनुमा भारतीय विदेशसचिव विक्रम मिश्रीको भ्रमण स्थगनसँग जोडेर हेरेका छन् ।
प्रधानमन्त्री बालेन्द्र शाहले नभेट्ने बुझेपछि गत २८ वैशाखमा तय भएको मिश्रीको दुई दिने नेपाल भ्रमण अन्तिम समयमा स्थगित भएको थियो ।
परराष्ट्रका अधिकारीहरु भने नेपालका कारण मन्त्री खनालको भ्रमण रद्ध नभएको दाबी गर्छन् । दुई देशबीच सम्बन्ध सुधारको सेतुका रुपमा लिइएको उक्त भ्रमण स्थगन हुनुमा केहीले प्रधानमन्त्री बालेन्द्र शाहको विदेश नीति कारक रहेको ठानेका छन् ।
सरकारका आलोचकहरु प्रधानमन्त्री शाहले नेपालस्थित विदेशी राजदूतहरुलाई ‘सह–सचिव नभेट्ने’ नीतिमा पुनर्विचार नगरे कूटतनीतिक सम्बन्ध थप बिग्रिने दाबी गर्छन् ।
यद्यपि परराष्ट्रले भ्रमण तयारी र स्थगनबारे औपचारिक रुपमा केही बोलेको छैन ।
खनाल बाघ र चितुवाजस्ता ठूलो बिरालो प्रजातिका जनावरको संरक्षणसम्बन्धी अन्तरसरकारी अन्तर्राष्ट्रिय समूह ‘बिग क्याट अलायन्स’ (आईबीसीए) को शिखर सम्मेलनमा भाग लिन नयाँदिल्ली जाने तयारी थियो ।
१९ र २० जेठमा हुने सम्मेलनको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गर्ने भनिएको थियो । भारतले अफ्रिकी मुलुकहरुमा फैलिएको इबोला भारसको कारण देखाउँदै कार्यक्रम नै स्थगित गरेपछि मन्त्री खनालको भ्रमण नहुने भएको हो ।
२५ सदस्य रहेको बिग क्याट अलायन्समा बाघ र चितुवा पाइने इथियोपिया, केन्या, नाइजेरिया, इजिप्ट, एस्वाटिनी, सोमालिया, लाइबेरिया, दक्षिण सुडान, युगान्डा लगायतका अफ्रिकी मुलुक सदस्य छन् ।
डेमोक्रेटिक रिपब्लिक अफ कंगो र युगान्डामा इबोला भाइरस महामारीका रुपमा फैलिएको छ । अन्य देशमा पनि इबोला संक्रमितहरु फेला परेका समाचार सार्वजनिक भएका छन् ।
इबोला भाइरसको प्रकोप बढेपछि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले ‘विश्व स्वास्थ्य संकटकाल’ घोषणा गरेको छ ।
दक्षिण एसियाली देशहरु नेपालसहित भारत, भुटान, बंगलादेश र श्रीलंका उक्त अलायन्समा छन् ।
भारतीय विदेश मन्त्रालयले कार्यक्रमको अर्को मिति तय भएपछि सार्वजनिक गरिने बताएको छ । भारतको वातावरण, वन तथा जलवायु परिवर्तन मन्त्रालयद्वारा जारी विज्ञप्तिमा सदस्य राष्ट्र तथा सरोकारवालाको परामर्शमा सम्मेलनको नयाँ मिति तय गरिने उल्लेख छ ।
खनालले भारत भ्रमणका क्रममा समकक्षी एस जयशंकर, वाणिज्यमन्त्री पियूष गोयलसँगलगायतसँग भेटघाट गर्ने तयारी गरेका थिए । खनाल गत २६ चैतमा इन्डियन ओसन सम्मेलन–२०२६ मा सहभागी हुन मौरिससको राजधानी पोर्ट लुइस गएका थिए । त्यस क्रममा उनको भारतीय विदेशमन्त्री जयशंकरसँग साइडलाइन वार्ता भएको थियो ।




प्रतिक्रिया