आईपीओ जारी गर्ने नेपालकै पहिलो सिमेन्ट उद्योग बन्यो शिवम्


काठमाडौं– शिवम् सिमेन्ट आईपीयो जारी गर्न स्वीकृति पाउने नेपालको पहिलो सिमेन्ट उद्योग बनेको छ। धितोपत्र बोर्डले शिवम् सिमेन्टलाईआईपीयो जारी गर्न स्वीकृति प्रदान गरेसँगै शिवम्ले स्थानीयका लागि प्रतिकित्ता तीन सय र सर्वसाधारणका लागि प्रतिकित्ता चार सय रुपियाँका दरले आईपीओ खुलाउने भएको छ।

शिवमले स्थानीयका लागि दुई प्रतिशत तथा सर्वसाधारणका लागि दश प्रतिशत गरी जारी पुँजीको १२ प्रतिशत आईपीओको अनुमति पाउँदा ८ लाख ८० हजार कित्ता स्थानीयका लागि र ४४ लाख कित्ता सर्वसाधारणका लागि प्राथमिक सेयर जारी हुनेछ।

शिवमले यसअघि अन्तर्रा्ष्ट्रिय क्रेडिट दर्जा एजेन्सी (इक्रा)बाट मजबुत आईपीओ रेटिङ ‘३ प्लस’ पनि प्राप्त गरिसकेको छ । ‘गुणस्तरको पहिचान हो शिवम् सिमेन्ट’ र ‘गुणस्तरमा कहिल्यै सम्झौता नगरौँ’ भन्ने नारामा अडिग रहँदै आएको कम्पनीले आफ्ना उत्पादनलाई देशमा मात्र नभई भारतमा पनि बिक्री वितरण गर्न सक्ने क्षमता वृद्धि गरेको छ ।

२०६० सालमा प्राइभेट कम्पनीको रूपमा हेटौँडामा स्थापना भएको शिवम् सिमेन्ट २०६७ पछि भने व्यावसायिक उत्पादनमा सक्रिय बनेको हो । उत्पादनको सुरुवातमा प्रतिदिन ७ सय टन सिमेन्ट र १२ सय टन क्लिङ्कर उत्पादन गरेको उद्योग २०७२ सालमा आएर पब्लिक कम्पनीमा परिणत भयो ।

०७२–७३ मा आएर शिवम्ले २३ सय टन सिमेन्ट उत्पादन गर्न थाल्यो र हाल आएर प्रतिदिन तीन हजार टन सिमेन्ट र १९ सय टन क्लिङ्कर उत्पादन गर्ने क्षमता वृद्धि गरेको छ । शिवम् सिमेन्टमा ६ वटा कम्पनीहरु लक्की ग्रुप, सारदा ग्रुप, जेबी मारु ग्रुप, एचआर गोयल ग्रुप, देवेनरा ग्रुप र भिमसरिया ग्रुपको संयुक्त लगानी छ ।

सञ्चालक समितिका अध्यक्ष सुरेन्द्रकुमार गोयल छन् भने बोर्ड अफ डाइरेक्टरहरूमा रोहित गुप्ता, सन्दीपकुमार सारदा, अमित मोर र रघुनन्दन मारु छन् । भारतीय गुणस्तर चिन्ह बीआईएस प्रमाणपत्र प्राप्त गर्न सफल सिमेन्ट हो शिवम् सिमेन्ट ।

साथै नेपालमै उत्कृष्ट सिमेन्टको प्रमाणपत्र (आईएसओ) पनि प्राप्त गर्न सफल भएको छ । भारतीय गुणस्तर चिन्ह बीआईएस प्रमाणपत्र प्राप्त गरेपश्चात यो कम्पनीले आफ्नो उत्पादन विदेश निर्यात गर्न पनि सक्षम भएको हो । शिवम्ले भारत निर्यात गर्न योग्य सिमेन्ट उद्योगका रूपमा आफूलाई स्थापित गरिसकेको छ ।

चाइनाको प्रख्यात सिमेन्ट उत्पादक कम्पनी होङ्सीलाई नेपालमा भित्र्याउन सफल शिवम् सिमेन्टले आफ्नो २६ दशमलव ४ प्रतिशत अर्थात ३ अर्ब ३६ करोड सेयर होङ्सीमा लगानी गरेको छ । नवलपरासीमा सञ्चालित होङ्सीमा अन्य सहायक कम्पनीमार्फत शिवम्ले संयुक्त लगानी गरेको हो ।

होङ्सीले प्रतिदिन ६ हजार टन सिमेन्ट उत्पादनको क्षमता राख्छ । ठूलो लगानीमा सञ्चालित होङ्सीको प्रतिफल आउन भने ३–४ वर्ष अझै लाग्नेछ । शिवम्को होङ्सीमा ठूलो लगानी रहेकाले भविष्यमा कम्पनीको नाफा वृद्धि राम्रो हुने सङ्केत देखिन्छ । त्यसैगरी सहायक लगानीलाई पनि कम्पनीले बढावा दिएको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement