किन तोडे श्रीलङ्काकामा मुसलमानले आफ्नै मस्जिद ?


एजेन्सी – श्रीलङ्काकामा मुसलमानले आफ्नै मस्जिद तोडेका छन् । मुसलमान एमएचएम अकबरले बीबीसीसँगको कुराकानीमा भनेका छन्, ‘इस्टरको दिन हमलापछि हाम्रो बस्तीका गैर मुसलमानले हामीलाई आतंकवादी देखिरहेका थिए ।’
उक्त हमलामा २ सय ५० व्यक्तिको मृत्यु भएको थियो र यसमा मुस्लिम कट्टरपन्थी समूहको हात भएको बताइयो ।

संसारभरीका मुसलमान रमजानको महिनामा ब्रत राख्छन् र प्रार्थना गर्छन् तर श्रीलङ्कामा मुसलमानको एउटा सानो समुहले आफूलाई हिंस्रक समुहबाट अलग देखाउनका लागि मस्जिद तोडे ।

अकबर खान मदतुंगमाका मुख्य मस्जिदका ट्रस्टी हुन् । उनले बीबीसीसँगको कुराकानीमा ‘अल्लाह’ माथि विश्वास राख्नेहरुले आखिर किन यस्तो कदम उठाए भन्ने जानकारी दिएका छन् ।

अकबर भन्छन, ‘उक्त हमलापछि पुलिसको मस्जिदमा आवतजावत भइरहन्थ्यो । यसै कारण मानिसहरु तनावमा पर्न थाले । उक्त हमलापछि हाम्रो र अन्य समुदायबीच विश्वास निकै खस्किएको छ ।’

कथित रुपमा यो मस्जिदको प्रयोग प्रतिबन्धित चरमपन्थी संगठन तौहिद जमातका सदस्यले गरिन्थ्यो । उक्त समुहमाथि अप्रिलमा द्वीपीय देशमाथि आत्मघाती बिस्फोट गराएको शंका थियो ।

इस्टर हमलापछि श्रीलङ्काली सरकारले देशव्यापी रुपमा तौहिद जमातलाई टार्गेट गर्दै कारवाही सुरु गरेको थियो । उक्त संगठनको तर्फबाट पूर्वी शहर कट्टनकुडीमा एक मस्जिद चलाइँदै थियो जसलाई सिल गरिएको छ ।

मदतुंगामामा यो मस्जिद ऐतिहासिक, धार्मिक वा संस्कृतिक रुपमा महत्वपूर्ण थिएन । यो एउटा भिन्न अति–रुढिवादी मस्जिद समूहद्वारा संचालन गरिँदै थियो जसको उक्त हमलासँग कुनै सम्बन्ध थिएन ।

उक्त कदमबाट थाहा हुन्छ कि चरमपन्थीबाट छुटकारा पाउनका लागि यो समुदायका व्यक्तिहरु कुन हदसम्म जान तयार छन् ।

अकबर भन्छन्, ‘हाम्रो इलाकामा पहिले नै एउटा मस्जिद थियो जसमा मानिसहरु नमाज पढ्थे । तर केही वर्ष अघि केही मानिसहरुले उक्त नयाँ मस्जिद बनाएका थिए ।’

मे महिनामा पुरानो मस्जिदका एउटा सदस्यले बैठक बोलाए जसमा विवादको जड उक्त नयाँ मस्जिदलाई ध्वस्त गरिदिने निर्णय गरियो । स्थानीयले हातमा हथौडा लिएर यो मस्जिदलाई तोडे ।

उनी भन्छन्, ‘हामीले उक्त मस्जिदका कोठाहरु भत्काइदियौं र जग्गाका हकदारलाई उक्त स्थान सुम्पियौं ।’

लगभग ७० प्रतिशत श्रीलङ्काली जनसंख्या बौद्ध धर्म मान्छन् र सबैजना सिंहली भाषा बोल्छन् । १२ प्रतिशत जनसंख्यासहित हिन्दु धर्म देशको दोस्रो ठूलो समुदार हो । त्यसपछि १० प्रतिशत जनसंख्यासहित मुसलमान तेस्रो स्थानमा र ७ प्रतिशत जनसंख्यासहित ईसाई तेस्रो स्थानमा आउँछ ।

प्रतिक्रिया दिनुहोस
Advertisement