श्रीलंका उडे नेकपा संयोजक प्रचण्ड

श्रीलंका उडे नेकपा संयोजक प्रचण्ड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ श्रीलंका उडेका छन्।

कम्युनिस्ट, समाजवादी, प्रगतिशील तथा वामपन्थी शक्तिहरूको अन्तर्राष्ट्रिय सञ्जाल इन्टरनेशनल पिपुल्स एसेम्बली (आईपीए)मा सहभागी हुन प्रचण्ड बुधबार श्रीलंकन एअरको यूएल १८२ जहाज मार्फत २ बजे श्रीलंका गएका हुन्।

प्रचण्डसँगै नेपाली प्रतिनिधिमण्डलमा नेकपाका नेताहरू बलराम बास्कोटा, बलदेव चौधरी, दामा शर्मा, माधव पन्त र गंगा दाहाल सहभागी छन्।

भ्रमणका क्रममा प्रचण्डले श्रीलंकाका राष्ट्रपति, प्रधानमन्त्री, जनता विमुक्ति पेरामुनाका महासचिव, कम्युनिस्ट पार्टी अफ श्रीलंकाका महासचिवलगायत एसियाका विभिन्न देशका दर्जनभन्दा बढी राजनीतिक नेतासँग शिष्टाचार भेट तथा द्विपक्षीय छलफल गर्ने कार्यक्रम रहेको छ।

तीन दिनसम्म सञ्चालन हुने सम्मेलनमा नेपाल, भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका, माल्दिभ्स, चीन, ताइवान, कोरिया, फिलिपिन्स, थाइल्यान्ड, मलेसिया, इरान, लेबनान, जापान, अस्ट्रेलिया, इन्डोनेसियालगायत एसियाली मुलुकका कम्युनिस्ट, समाजवादी तथा प्रगतिशील राजनीतिक दलका नेताहरूको सहभागिता रहने जनाइएको छ।

सम्मेलनमा जलवायु परिवर्तन, विश्व तथा क्षेत्रीय आर्थिक संकट, सैन्यीकरण र नव(नाजी प्रवृत्तिको विस्तार, एसियाली क्षेत्रमा वैदेशिक हस्तक्षेप, क्षेत्रीय शान्ति तथा स्थायित्व र समाजवाद निर्माणका लागि एसियाली मुलुकबीचको एकता र सहकार्यका विषयमा विस्तृत छलफल हुने छ।