नेपालमा गैरविवादित राजनीतिक व्यक्तिलाई प्रधानमन्त्री बनाउने तयारी भइरहेको छः भारतीय पूर्वराजदूत शरण


काठमाण्डु – नेपालका लागि भारतीय पूर्वराजदूत श्याम शरणले नेपालमा गैरविवादित व्यक्तिलाई प्रधानमन्त्री बनाउने तयारी भएको खुलासा गरेका छन् ।

भारतको अंग्रेजी पत्रिका ‘दि ट्रिब्युन’ मा एक लेख लेख्दै उनले केपी शर्मा ओलीले संसद भंग गरेपछि उक्त निर्णय खारेज गर्न र नेतृत्व परिवर्तन गर्न दबाब आइरहेको बताएका छन् । भारतीय पूर्वविदेशसचिवसमेत रहेका शरणले प्रधानमन्त्री ओलीले राजीनामा नदिने अडान लिइरहेको र अगामी संकट कसरी पार लगाउँछन् त्यो भने हेर्न बाँकी रहेको उल्लेख गरेका छन् ।

‘उनलाई (ओलीलाई) राजीनामा गर्न र प्रधानमन्त्रीको रूपमा गैर विवादित राजनीतिक व्यक्तित्व ल्याउने तयारीहरू भइरहेका छन् । ओली यसको प्रतिरोध गर्न बाध्य छन् । हामीले पर्खनुपर्छ र हेर्नुपर्नेछ कि ओली कसरी पछिल्लो संकट पार लगाउँछन्’, उनले भनेका छन् ।

त्यस्तै उनले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवाद मिलाउन चीनले एक टोली नेपाल पठाएको बताएका छन् । पूर्वराजदूत शरणले नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेकपालाई एकताबद्ध राख्न ‘रेफ्री’को भूमिका खेलेको बताएका छन् ।

नेकपाभित्रको विवाद मिलाउन चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय सम्पर्क विभागका उप–मन्त्रीको नेतृत्वमा चार सदस्यीय प्रतिनिधिमण्डल काठमाण्डु आएको छ । उक्त टोलीले नेकपालाई एकतामा राख्नको लागि अन्तिम प्रयास गर्ने उनले आफ्नो लेखमा उल्लेख गरेका छन् ।

उनले नेकपाको भाग्य ओलीको चालको परिणाम जस्तोसुकै भए पनि नेपालको लोकतन्त्र र देशको राजनीतिक स्थायित्व र आर्थिक समृद्धिको नतिजा भयानक हुने बताएका छन् ।

‘नेपाल पहिले नै कोभिड–१९ महामारीको प्रतिकूल प्रभावबाट पीडित छ । पर्यटन आय र यसले विदेशमा काम गर्ने प्रवासी जनसंख्याबाट रेमिट्यान्स सुकेको छ । राजनीतिक उथलपुथलले मात्र आर्थिक संकटलाई उकास्नेछ र नविकरण र व्यापक हिंसा निम्त्याउन सक्छ’, उनले भनेका छन् ।

त्यस्तै उनले कोरोना महामारी र बेरोजगार राजनीतिक तथा आर्थिक अवस्थाले चुनावलाई स्थगित गर्न र विस्तारित संकटकाल घोषणा गर्न पनि बहाना हुने उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement