काठमाण्डु – सिन्धुपाल्चोकमा यस बर्षको बाढी र पहिरोबाट पीडित एवं विस्थापितहरूलाई सहजीकरण गर्न गठित विपद् व्यवस्थापन सर्वपक्षीय समितिले सभामुख अग्निप्रसाद सापकोटालाई ध्यानाकर्षण पत्र बुझाएको छ । मेलम्ची र इन्द्रावती नदिले पुल बगाएको स्थानमा तत्काल बेलीब्रिज स्थापना गरी सडक सम्पर्क जोड्न, अवरूद्ध विद्युत् र सञ्चार सम्पर्क स्थापित गर्न विशेष पहल गरिदिन आग्रह गर्दै ध्यानाकर्षण पत्र बुझाएका हुन् ।
ध्यानाकर्षण पत्र बुझेपछि सभामुख सापकोटाले मेलम्ची र हेलम्बु क्षेत्रका बाढी पहिरो प्रभावितसँग सम्बन्धित विषय आफ्नो प्राथमिकतामा रहेको बताए । उनले संरचना पुनः निर्माणका लागि सम्बन्धित मन्त्रालयसँग छलफल भइरहेको जानकारी दिए । सभामुख निवास लैनचौर पुगेर उनीहरूले समस्या समाधानका लागि पहल गर्न आग्रह गरेका थिए ।
गत असार २ गते सभामुख सापकोटाको उपस्थितिमा मेलम्ची नगरपालिकाको कार्यालयमा बसेको सर्वपक्षीय बैठकबाट बाढी, पहिरोबाट पीडितहरूलाई सहजीकरण गर्न जिल्ला समन्वय समितिका प्रमुख कृष्ण गोपाल तामाङको संयोजकत्वमा सर्वपक्षीय सहभागिता सहित ‘इन्द्रावती, मेलम्ची क्षेत्र प्राकृतिक विपद् व्यवस्थापन मूल समिति’ गठन भएको थियो ।
प्रतिक्रिया