गृहराज्यमन्त्रीमा नवराज सिलवाललाई सपथ खुवाउने तयारी


काठमाडौं – प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वडीआईजी समेत रहेका एमाले सांसद नवराज सिलवाललाई गृहराज्यमन्त्री बनाउन छलफल सुरु गरेका छन् ।ललितपुर–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद सिलवाललाई गृह राज्यमन्त्री बनाउन प्रधानमन्त्री ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसंग छलफल गरेको ओली निकट स्रोतले जानकारी दियो ।

प्रधानमन्त्री ओलीले पुर्व गर्भनर युवराज खतिवडालाई अर्थमन्त्री बनाएर विज्ञताको आधारमा जिम्मेवारी दिने संकेत गरिसकेका छन् । अर्थमन्त्रालयको लागी ओली निकट नेताहरु ईश्वर पोखरेल र प्रदिप ज्ञवाली लविङमा रहेपनि अन्तिममा प्रधानमन्त्रीले अर्थविज्ञ समेत रहेका खतिवडालाई मन्त्रालयको वागडोर सम्हाल्ने जिम्मा दिएका थिए ।

यता माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र गृहमन्त्री बादल पनि सिलवाललाई राज्यमन्त्री बनाउन सकरात्मक रहेको स्रोतको दाबी छ । पार्टी एकिकरण गर्ने निर्णय गरिसकेका एमाले र माओवादी केन्द्रका नेताहरुले सिलवाललाई राज्यमन्त्री बनाउन सकिने सुझाव समेत प्रधानमन्त्रीलाई दिएका छन् ।

माओवादी नेता रामबहादुर थापा बादलले गृह मन्त्रालयको जिम्मेवारी सम्हाले लगत्तै ओलीले प्रचण्ड र बादलसंग सिलवाललाई गृह राज्यमन्त्री बनाउने प्रस्ताव गरेका हुन् । अर्कोपटकको मन्त्रिमण्डल विस्तारका क्रममा सिलवाललाई गृह राज्यमन्त्रीको सपथग्रहण गराउने तयारीमा प्रधानमन्त्री ओली रहेको बालकोट स्रोतले बतायो ।

सांसद सिलवालले भने यसबारेमा आफु अनविज्ञ रहेको बताए । उनले पार्टी र देशले जिम्मेवारी दिए आफु जुनसुकै भुमिकामा पनि काम गर्न तयार रहेको बताए । सिलवाल नेपाल प्रहरीमा डिआईजी हुंदा दर्जनौ लोकप्रिय काम गरेर चर्चामा थिए । उनलाई प्रहरीमा सबैले रोल मोडलका रुपमा हेर्ने गरेको प्रहरीकै उच्च अधिकारीहरु बताउंन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement