डिआईजीबाट राजिनामा दिएका सिलवाल एमाले प्रवेश गर्दै


काठमाडौं–सर्वोच्च अदालतको फैसलापछि डिआईजी पदबाट राजिनामा दिएको घोषणा गरेको नेपाल प्रहरीका डिआईजी नवराज सिलवाल नेकपा एमालेमा प्रवेश गर्ने भएका छन् । सिलवाल निकट स्रोतले दिएको जानकारीअनुसार सिलवालले प्रहरी मुख्यालयमा बुझाएको राजिनामा स्विकृत भएलगत्तै उनि एमाले प्रवेश गर्ने तयारीमा छन् ।

 

 

सिलवाल राजिनामा स्विकृत भएलगत्तै औपचारीक रुपमा एमाले प्रवेश गर्ने र एमालेबाटै सक्रिय राजनीति गर्ने तयारीमा छन् । सिलवाललाई एमाले अध्यक्ष वलीले ललितपुरबाट संसदको चुनावमा टिकट दिने बचन दिएका छन् । डिआईजी सिलवाल ललितपुरको गोदावरीका स्थानिय बासिन्दा हुन ।

 

राजिनामा दिनुअघि पनि सिलवालले ओलीसंग सल्लाह गरेका थिए । सत्तारुढ दल माओवादी केन्द्र र नेपाली कांग्रेसले पनि सिलवाल एमाले निकट भएको आरोप लगाएका  थिए ।
 

 

एमाले अध्यक्ष केपी शर्मा ओलीसंग निकट सम्बन्ध भएका सिलवालले उनकै सल्लाहमा सर्वोच्चको फैसलापछि राजिनामा बुझाएका थिए । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री हुदा वरियतामा अघि हुदा हुदै पनि सिलवालको ठाउमा तत्कालिन सरकारले डिआईजी जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षकमा नियुक्त गरेको थियो ।

 

 

कांग्रेस सभापति समेत रहेका हालका प्रधानमन्त्री शेरबहादुर देउवाले चन्दलाई आईजिपी नियुक्त नगरे सरकारबाट समर्थन फिर्ता लिने चेतावनी दिएपछि प्रचण्डले चन्दलाई प्रहरी महानिरीक्षक बनाउने निर्णय गरेका थिए ।

 

प्रचण्डले सिलवाललाई नियुक्त गर्न चाहेपनि देउवाले चन्दलाई बनाउन दबाव दिएपछि उनले चन्दलाई नै आईजिपी नियुक्त गरेका थिए । सरकारी निर्णयको विरुद्धमा अदालत पुगेका सिलवाललाई तत्कालिन प्रधानन्यायाधीश शुसिल कार्कीको एकल इजलाशले चन्दको नियुक्ती बदर गरेको थियो । उनीमाथी  प्रधानन्यायाधीशको आडमा अदालतलाई प्रयोग गरेको आरोप समेत छ ।

 

 

चन्दको नियुक्ती बदर भएपछि पनि प्रचण्ड नेतृत्वको तत्कालिन सरकारले दोस्रो वरियतामा रहेका डिआईजी प्रकाश अर्याललाई आईजिपी नियुक्त गरेपछि सिलवाल प्रचण्डसंग आगो छन् । उनले माओवादी अध्यक्ष प्रचण्डले अरुसंग निकटता नदेखाउन भनेको र अन्तिममा आफुलाई  प्रचण्डले धोका दिएको आरोप आफु निकटस्थहरुसंग लगाउने गरेका छन् ।

 

सिलवाललाई एमाले अध्यक्षले उचालेको र आफ्नो नेतृत्वको सरकारको विरुद्धमा लागेको भन्दै प्रचण्डले उनलाई आईजिपी नबनाउने अडान लिएका थिए । माओवादीभित्र सिलवाललाई आईजिपी बनाउनुपर्ने दबाव हुदा हुदै पनि प्रचण्डले अन्तिममा अर्याललाई नै आईजिपी बनाउने निर्णय गरेका थिए ।

 

सुरुमा माओवादी अध्यक्ष प्रचण्ड पनि सिलवालकै पक्षमा थिए । दोस्रो पटक सिलवाल अदालत गएपछि भने प्रचण्ड आईजिपी अर्याललाई नै बनाउने निर्णयमा पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement