काठमाण्डु– झापा–इलाम सीमावर्ती क्षेत्रमा हुनसक्ने अवैध चोरी–निकासी, पैठारी तथा सम्भावित राजस्व चुहावट नियन्त्रण गर्न जिल्ला सुरक्षा समिति झापाले सुरक्षा निगरानी बढाएको छ।
प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलको नेतृत्वमा आइतबार सीमावर्ती क्षेत्रका विभिन्न स्थानको स्थलगत अनुगमन गर्दै सुरक्षा अवस्था र सम्भावित जोखिमबारे जानकारी लिइएको हो।
मेचीनगर, बुद्धशान्ति, अर्जुनधारालगायत पालिकासँग जोडिएका सीमा क्षेत्र तथा आवतजावतका वैकल्पिक मार्गमा सुरक्षा निगरानी बढाइएको छ।
प्रजिअ पोखरेलका अनुसार मुख्य नाकाबाहेक ग्रामीण सडक तथा वैकल्पिक बाटोबाट हुनसक्ने अवैध ओसारपसार र तस्करीलाई लक्षित गरी सुरक्षा गस्ती प्रभावकारी बनाइएको छ।
इलाम, पाँचथर र ताप्लेजुङबाट झापाको बाटो हुँदै भारततर्फ हुनसक्ने अवैध निकासीलाई मध्यनजर गर्दै संवेदनशील क्षेत्रमा थप सुरक्षा परिचालन गरिएको हो।
सीमावर्ती क्षेत्रमा सम्भावित अवैध गतिविधिबारे सूचना तत्काल आदानप्रदान गरी आवश्यक कारबाहीका लागि सुरक्षा निकाय परिचालन गर्ने व्यवस्था मिलाइएको छ।
जिल्ला प्रहरी कार्यालय झापा र सशस्त्र प्रहरी बल नेपालका सम्बन्धित युनिटलाई नियमित गस्ती तथा पेट्रोलिङ प्रभावकारी बनाउन निर्देशन दिइएको छ।
सीमावर्ती क्षेत्रमा तैनाथ नेपाल प्रहरी र सशस्त्र प्रहरीका युनिटले सुरक्षा उपस्थिति, गस्ती तथा कारबाहीको अवस्थाबारे प्रत्येक १५ दिनमा जिल्ला सुरक्षा समितिमा विवरण बुझाउनुपर्ने व्यवस्था गरिएको छ। प्राप्त विवरणका आधारमा सीमा क्षेत्रको सुरक्षा अवस्था मूल्याङ्कन गरी थप रणनीति तय गरिने प्रजिअ पोखरेलले बताए ।
अनुगमनमा जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक वसुन्धरा खड्का, सशस्त्र प्रहरी बल नेपाल नं. २ गण झापाका गणपति सशस्त्र प्रहरी उपरीक्षक सचिन कर्माचार्य तथा राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय झापाका उपअनुसन्धान निर्देशक उमेश पाण्डेलगायत सुरक्षा अधिकारी सहभागी थिए।
नजिकिँदै गरेको चाडपर्वका समयमा सीमावर्ती क्षेत्रबाट पटका तथा अन्य अवैध सामग्रीको ओसारपसार हुनसक्ने सम्भावनालाई ध्यानमा राख्दै सुरक्षा निकायलाई थप सतर्कता अपनाउन निर्देशन दिइएको छ।




प्रतिक्रिया