प्रहरी महानिरीक्षक सिंह यूएई प्रस्थान, कामुको जिम्मेवारी थापाले पाए


काठमाण्डु- प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह संयुक्त अरब इमिरेट्स प्रस्थान गरेका छन् । युएईको अबुधाबीमा २०७९ माघ २४ देखि २६ गतेसम्म संचालन हुने इन्टरपोलको २४औं एसियाली क्षेत्रीय सम्मेलनमा सहभागी हुन सिंह सोमबार त्यसतर्फ प्रस्थान गरेका हुन् ।

नेशनल सेन्ट्रल ब्यूरो काठमाडौं नेपालका प्रमुख समेत रहेका प्रहरी महानिरीक्षक सिंहको नेतृत्वको टोलीमा नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाका प्रहरी उपरीक्षक अनुपम शमशेर जवरा समेत छन् ।

त्रिदिवसीय उक्त सम्मेलनमा एसियाली मुलुकका प्रहरी प्रमुखहरू, इन्टरपोलका प्रतिनिधि मण्डल तथा विभिन्न सरोकारवाला निकायहरुबीच आर्थिक अपराध, मानव बेचबिखन, साइबर अपराध र आतंकवाद जस्ता अन्तरदेशीय अपराधहरुको नियन्त्रणका लागि आवश्यक प्रहरी समन्वय लगायतका विषयहरुमा बृहत छलफल हुने कार्यक्रम रहेको छ ।

प्रहरी महानिरीक्षक सिंहको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक सहकुल बहादुर थापाले नेपाल प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्ने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement