काठमाण्डु – नेपालमा भदौ १० गते आएको विनाशकारी बाढीको प्रभाव हजारौँ किलोमिटर टाढा रहेको सिंगापुरसम्म पुगेको छ। बाढीमा सिंगापुरका नौ नागरिक बेपत्ता भएपछि सामाजिक सञ्जालमा उनीहरूलाई लिएर नस्लवादी तथा विदेशीद्वेषी टिप्पणीहरू सार्वजनिक भएका छन्।
घटनाप्रति सिंगापुरका प्रधानमन्त्री, वरिष्ठ मन्त्री तथा पूर्वप्रधानमन्त्रीले आपत्ति जनाउँदै कुनै पनि समुदायप्रति पूर्वाग्रह र घृणालाई बढावा दिन नहुने बताएका छन्।
नेपालमा आएको बाढीमा हालसम्म १ हजार ३६६ जनाको मृत्यु पुष्टि भएको छ भने झण्डै पाँच हजार मानिस अझै बेपत्ता छन् ।
बेपत्तामध्ये सिंगापुरका नौ जनासहित विभिन्न देशका नागरिक पनि छन्।
बेपत्ता सिंगापुरका अधिकांश नागरिक भारतीय मूलका सिंगापुरवासी हुन्। उनीहरू बेपत्ता भएपछि सामाजिक सञ्जालमा भारतीय समुदायलाई लक्षित गर्दै आपत्तिजनक तथा नस्लवादी टिप्पणीहरू देखिएका थिए।
सिंगापुरका गृहमन्त्री के. षण्मुगमले त्यस्ता टिप्पणीलाई ‘लज्जास्पद, खराब र कुनै पनि हालतमा स्वीकार्य’ नभएको’ बताएका छन्। उनले सामाजिक सञ्जालमा गरिएका आपत्तिजनक टिप्पणीबारे अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएको जानकारी दिए।
साथै, सम्बन्धित प्लेटफर्महरूलाई आफ्ना दिशानिर्देश उल्लंघन गर्ने टिप्पणी हटाउन आग्रह गरिएको उनले बताए।
षण्मुगमका अनुसार सामाजिक सञ्जालमा ‘उनीहरू हाम्रा आफ्ना होइनन्’, ‘म यहाँ भारतीय अनुहार मात्रै देखिरहेको छु’, ‘उद्धार अभियान बन्द गर’ र ‘सबै उस्तै देखिन्छन्’, ‘एआईले कसरी पहिचान गर्छ ?’ जस्ता टिप्पणी गरिएका थिए।
‘यी टिप्पणी लज्जास्पद, खराब र पूर्ण रूपमा अस्वीकार्य छन्,’ उनले भने। यद्यपि, त्यस्ता सबै टिप्पणी सिंगापुरका नागरिकले नै गरेका हुन् भन्ने आफूलाई यकिन नभएको उनले स्पष्ट पारे।
षण्मुगमले अधिकांश सिंगापुरवासीले यस्तो दृष्टिकोण नराख्ने पनि बताएका छन्। उनका अनुसार विभिन्न जाति र समुदायका सिंगापुरवासीले नेपालमा बाढीपीडितका लागि सहयोग गरिरहेका छन्। अल्पसंख्यक केही व्यक्तिको व्यवहारका कारण समग्र समाजलाई विभाजित हुन दिन नहुनेमा उनले जोड दिएका छन्।
पूर्वप्रधानमन्त्री लुङको पनि आपत्ति
सिंगापुरका पूर्वप्रधानमन्त्री ली सिएन लुङले पनि नेपालमा आएको बाढीबाट प्रभावित परिवारप्रति समवेदना व्यक्त गर्दै विपत्तिको समयमा सबैले सहानुभूति र एकताका साथ व्यवहार गर्नुपर्ने बताएका छन्।
उनले बाढीपछि भारतीय समुदायलाई लक्षित गर्दै सामाजिक सञ्जालमा देखिएका नस्लवादी तथा घृणापूर्ण टिप्पणीप्रति दुःख व्यक्त गरेका छन्।
लुङले नस्लवादी पूर्वाग्रह र घृणा भड्काउने प्रयासलाई सामान्य बन्न दिन नहुने भन्दै विभिन्न जाति र समुदायबीच सहिष्णुता तथा पारस्परिक सम्मान कायम राख्न निरन्तर प्रयास आवश्यक रहेको बताएका छन्।
गृहमन्त्री षण्मुगमले पनि केही व्यक्तिका आपत्तिजनक अभिव्यक्तिलाई आधार बनाएर समग्र सिंगापुर समाजलाई हेर्न नहुने बताएका छन्।
उनले नस्लवादलाई सामान्य बन्न दिँदा त्यसले क्रमशः सार्वजनिक बहस, सामाजिक सद्भाव र विभिन्न समुदायबीचको सम्बन्धमा नकारात्मक असर पार्न सक्ने चेतावनी दिएका छन्।
उनका अनुसार सिंगापुर बहुजातीय र बहुधार्मिक देश भएकाले सामाजिक एकता कायम राख्नु सबैको साझा जिम्मेवारी हो। ‘केही व्यक्तिको व्यवहारले समग्र समाजलाई विषाक्त बनाउन दिनु हुँदैन’ भन्ने उनको जोड थियो।




प्रतिक्रिया